काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली जनतालाई ढाँट्न उद्धत भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले शिलान्यासको नाममा जनतालाई झुक्याइरहेको आरोप लगाए ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पाण्डेले प्रधानमन्त्री ओलीसँग विगतमा उद्घाटन गरेका अस्पताल खै भनि प्रश्न गरे ।
“केही वर्ष अगाडि यही सिंहदरबारमा बसेर झन्डै चार पाँच सय स्थानीय तहमा १५ बेडका हस्पिटल शिलान्यास गर्नुभाथ्यो”, पाण्डेले भने, “कहाँ पुगे ती अस्पतालरु कति बनेछन् ?”
उनले १६५ निर्वाचन क्षेत्रमा शिलान्यास गरेका सडकहरुको अवस्था के हो भनि प्रश्न गरे । “ती सडक कति बनेछन्, त्यो सुनाउनुभएन ?”, उनले भनेका छन् ।
पाण्डेले कांग्रेस–एमाले सरकार गठनको ६ महिना पुगिसक्दा पनि देखाउने राम्रो काम नभएपछि अध्यादेश ल्याइएको टिप्पणी गरे ।
‘दुईवटा ठूला पार्टीले सम्झौता गरेर सरकार बनाएका छन् । यसबीचमा देखाउनलायक केही कामहरू भएन । ६ महिनाबीचमा केही काम राम्रोसँग देखाउन सकिएन,’ पाण्डेले भनेका छन्, ‘अध्यादेशबाट हामीले धेरै कुराको ढोका खोल्यौँ भन्न पनि यस्तो गर्नु पर्यो ।’