सरकारले जनताका आवाज दबाउन “सामाजिक सञ्जाल विधेयक” ल्यायो : माओवादी केन्द्र-Sutra News

सरकारले जनताका आवाज दबाउन “सामाजिक सञ्जाल विधेयक” ल्यायो : माओवादी केन्द्र

शुक्रबार, १८ माघ २०८१

शुक्रबार, १८ माघ २०८१

काठमाडौं । सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको आवाज कमजोर बनाउने मनसायले “सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक” ल्याएको बताएको छ । शुक्रबार पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जारी गरेको एक प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।



विज्ञप्ति मार्फत सापकोटाले भनेका छन्,“सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफु बिरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले यो विधेयक प्रस्तुत गरिएको छ ।” सरकारले राष्ट्रिय सभामा दर्ता गरेको “सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक” प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको छ । विधेयक मार्फत सरकार निरंकुशता तर्फ अग्रसर रहेको देखिन्छ ।

सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफु बिरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले यो विधेयक प्रस्तुत गरिएको छ । सरोकारवालाहरू सँग कुनै राय, सल्लाह तथा छलफल नगरिकन स्वेच्छचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ । बर्तमान सरकारले आफु बिरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रुपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रष्ट्याएको छ ।

आम नागरिकले प्रविधिको प्रयोग मार्फत स्वच्छ र मर्यादित आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने कुरामा हाम्रो पार्टी दृढ छ । अतः जनताको आन्दोलनको बलमा स्थापित नागरिकको बिचार तथा अभिव्यक्ति स्वत्रन्तताको हक प्रतिकुल हुने गरी संसदमा पेश गरिएको “सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयक” लाई सम्बन्धित पक्षसँगको छलफल पश्चात नेपालको संविधान अनुकुल हुने गरी परिमार्जन सहित अघि बढाउनु पर्ने कुरामा हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट