काठमाडौं । गत शनिवार मृत अवस्थामा भेटिएका अछाम ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो । शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको हो ।
शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको बताए । डीएसपी भण्डारीले भने, ‘किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव देखिएको छ ।’
मृतक इशरा खड्का र पक्राउ परेकामध्ये एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको खुलेको उनले बताए । उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुगाइसकेको भएपनि भेट्ने मौका पाएको थिएनन् । शुक्रबार गोठालो गएका बेला भेट्ने तय भएको थियो । इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबिच कुराकानी भइरहेको हुन्थ्यो । उनीहरुबिच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेको बताइएको छ ।
यस्तै, इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले संवाद सुरु गर्छन् । ‘उनीहरु जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्छन् । विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन्’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने, ‘पहिले प्रेस र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुंगाले हानेर सरस्वतीले हत्या गरिएको रहेछ ।’
प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा दखेपछि युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर, इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।
घटना बाहिर आउने डरले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाएको प्रहरीको भनाइ छ । इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरियो, लडेपछि फेरि अगाडिबाट ढुंगाले हानेर मारिएको देखिएको पत्रकार सम्मेलनमा डीएसपी भण्डारीले बताए ।
प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ ।