कथा : एक्लो मानिस-Sutra News

कथा : एक्लो मानिस

जुन समाजले जीवनभर धनको साथसाथै इज्जत पनि दियो, त्यही समाजलाई मैले तिमी जस्तो असभ्य नागरिक दिएँ ।

शनिबार, १९ माघ २०८१

शनिबार, १९ माघ २०८१

पतिको मृत्यु पछि सँगै चितामा जल्ने स्त्रीलाइ सति भनिन्छ। तर, पत्नीको मृत्युपछि सँगै चितामा जल्ने पतिलाई चाहिँ के भनिन्छ भनेर हाम्रो समाजले यो सम्बन्धमा केही नाम दिए जस्तो लाग्दैन मलाई ।



आजको नारायणी दैनिकी खबर पत्रीकामा एउटा अपत्यारिलो समाचार छापिएको छ। पत्रीकाको मुख्यपृष्ठमा छापिएको हुनाले हामी अन्दाज लगाउन सक्छौ कि यो समाचार ज्यादै खोजमुलुक र रहस्यमयी छ, जसको शीर्षकले पनि पाठकको ध्यानाकर्षण हुन्छ । समाचार अनुसार “भरतपुरका एक रिटायर्ड जर्नेलले आफ्ना दुई छोराहरूलाई पत्र लेखेर आफूलाई गोली हानि आत्महत्या गरे”। कुरो आत्महत्यासंग जोडिएकोले सबै पाठकको संवेदनशिलतालाइ छुनु स्वाभाविकै थियो । मैले पनि समाचार पढे पढ्दै जादा मनमा एकप्रकारको खुल्दुली बेचैनी र नरमाइलो लाग्न थाल्यो ।

जर्साबले आफू मर्नु अगाडि छोरालाई पत्र किन लेखे होलान् ? पत्रमा त्यस्तो के थियो ? उनले के कारण आफुले आफैलाइ गोलि हानी आत्महत्या गरे ? यो जान्नु अघि, संक्षेपमा जर्नेलले आफ्ना छोरालाई पत्र चाहि किन लेखे ? त्यस्को बारेमा थाहा पाउनु जरुरी हुनेछ । पत्रिकामार्फत धेरै कुराहरु जान्ने खुल्दुली पैदा भयो ।

पत्रीकामा लेखिएको थियो कि :-
सेनामा जर्नेल पदबाट रिटायर्ड भएपछि जर्नेल साहेब आफ्नी श्रीमतीसँग भरतपुरमा आफुले बनाएको एक महँगो बङ्गलामा बस्नथाले । नारायणी नदी तटमा सानदारको आधुनिक बङ्गला थियो जो असाध्य राम्रो र सुसम्पन्न थियो । बङ्गला वरिपरि हरियो बगैंचा, घरमा नोकरचाकर, एउटी दुधालु गाई, स्वीमिङ पुल सहितको त्यो घर, त्यो वरिपरि मध्यकै एउटा सान थियो । जस्ले पनि जर्साबको घर भन्थे । पुलुक्क फर्कि फर्की हेर्थे। मन मनै सोच्थे आहा ! यस्तो घर त मेरो नि भए… भनेर कल्पना गर्थे । तर त्यस्तो घर सबैको कर्ममा कहाँ लेखेको हुन्छर ?

नेपाल एकीकरणका अभियन्ता सरदार भक्ति थापा जस्ले नेपाल अंग्रेजी युद्धको बेला अंग्रेजसंग युद्ध गर्दा गर्दै देउथलमा वीर गति प्राप्त गरेका तिनै, वीर बिभुतीका वंशज थिए जर्नेल पृथ्वी बिक्रम थापा । आगनमा घोडा, साथमा अंग रक्षक, पुर्ख्यौली सम्पत्ति पनि प्रसस्त त छदै थियो, त्यो माथी पनि उनले आफुले जोडेको मेघौली एयर्पोट नजिकै हाइवेमा पाँच बिघामा निर्माणका भएको ठुलो फार्म हाउस थियो । त्यहाँ आठ/नौ जना त कामदार नै थिए ।

रिटायर्ड जर्नेल हुन कि बहालवाला हुन भन्न नसकिने अवस्था थियो। सबै जना उनीलाइ बहालवाला नै सोच्थे। सबै सान, सौकत, भेषभुषा, ब्यवहार, ब्यवस्थापन, खानपान चर्चामा कुनै कमि आएको थिएन।

जरसाहेबका दुई छोरा थिए । एक अजित बिक्रम थापा जेठा र असीम बिक्रम थापा कान्छा । लामो समय देखि उनीहरू अध्ययन र काम गरेर अमेरिकामा बस्थे। त्यतिबेला सामान्य परिवारको छोराछोरी पढ्न भनेर अमेरिका जान सक्तैनथे। एम्बेस्सीले पनि आफ्नो देशमा पठाउने मानिस उच्च खानदान र घरानियाकै रोज्ने चलन थियो। सर्वसाधारणका छोराछोरीका लागि अमेरिका सपना मात्रै थियो र आजसम्म पनि त्यस्तै छ ।

यहाँ यो उल्लेख गर्न आवश्यक छैन कि- ती जर्नेलका बुढाबुढिले आफ्ना दुइ प्यारा दुई सन्तानलाइ हुर्काउन जिन्दगीमा कुनै पनि कसर बाँकी राखेका थिएनन् । बालबालिकाले पनि सफलताको सिँढी चढे । उनीहरु पढेर लेखेर यति योग्य भए कि तिनले विश्वकै प्रतिष्ठित कर्पोरेट कम्पनीमा जागिर पाए । संयोगवश, दुवै दाजुभाइ आ-आफ्नो परिवारसँग एउटै देशमा बस्थे, तर अलग अलग । अमेरिकाको जिन्दगी असाध्यै ब्यस्त । श्रीमान श्रीमतीको बिच पनि कामको कारण सप्ताअन्तमा मात्रै भेटघाट हुने। उता छोराहरुको ब्यस्त जिन्दगी आफ्नै ठाउँमा अस्तब्यस्त त छदै थियो। यहि क्रममा –

एक दिन एक्कासी-

बाबुले रुँदै आफ्ना छोराहरूलाई फोन गरी खबर सुनाए । “छोरा हो! तिमीहरूको आमा अब यो संसारमा रहिनन् । म धेरै दुखमा छु। हिन्दू परम्परा अनुसार आफ्नी आमाको अन्तिम दाहासंस्कार गर्न तिमीहरू नेपाल आउने नै छौ। म तिमीहरूको आगमनको प्रतीक्षामा छु। तिमीहरू नआउँदा सम्म म भरतपुर अस्पतालको बेडमै हुनेछु र तिमीहरूको आमाको भौतिक देहलाइ यहि अस्पतालमा कुरेर बसिरहने छु।

खबर पुगेको पर्सिपल्ट कान्छो छोरा नेपाल आइपुगे। र हतारमा अस्पताल पुगे । जहाँ जर्साहेब एक्लै अस्पतालमा आफ्नी प्रीय पत्नीको भौतिक शरीर कुरेर बसिरहेका थिए।

कान्छो छोरालाई देखेर जर्साहेब बेस्सरी रोए। छोरालाई अगालो हाले। अस्पतालमा आउनेहरु भन्दै थिए कि-यस्तो बुढा मान्छेले आँसु झार्दै रोएको कस्तो नसुहाउने रहेछ है !

जब कान्छो छोरा बुबाको काखमा घोप्टिएर रुन थाले अनि जरसाहेबले कान्छोलाई सोधे :- “दाजु आएन कान्छा ! अब कति घन्टामा आइपुग्छ त्यो अमेरिकाबाट ! जेठो नआइकन तिमीहरूको आमालाइ देवघाट नलाने”

बुवाको इच्छा कान्छो छोराले बुझेपछि-

दाजुले आफुलाइ भनेको कुरा बुवालाई सुनाए -“मलाई जागीरबाट बिदा मिलेन त्यसकारण आमाको मृत्युमा तिमी नेपाल जाउ, अनि बाबुको मृत्युको बेलामा तिमीले जानुपर्दैन म मात्रै जाउला । हामी पालो पालो गरेर जाउला”

आफुले अति माया गरेको जेठो छोराले यस्तो बचन भनेछ भनि सुनिसकेपछि-

पत्नीको देहावसानका कारण बिक्षिप्त बनेका जर्नेल साहेबलाइ असह्यै भयो। आफ्ना आँखाबाट बहेका आँसु कसैले देख्लान भनेर उनी पिल्पिल गर्दै पत्निलाइ पहिला राखेको अस्पतालको बेड भित्र पसे। धेरै पटक आफुलाई सम्हालें, त्यसपछि जेठो छोरालाई पत्र लेखे-

प्यारो जेठु !

म र तिम्री आमाले तिमीलाई धेरै मायाले हुर्कायौं । संसारका सारा सुख दियौ। उत्कृष्ट देश र संसारका अब्बल ठाउँहरूमा शिक्षादिक्षा दिलायौ। जब तिम्री आमाले आफ्नो जीवनको अन्तिम श्वास लिदै थिइन, म उनको सानिध्यमा थिएँ, उनी मर्ने बेलामा तिमीहरु दुवैको अनुहार एकैपटक हेर्न चाहन्थिन् र दुवैलाई काखमा लिएर चुम्बन गर्न चाहन्थिन् । उ तिमीहरु दुवैका हातमा आफ्नो प्राण बिसाएर स्वर्ग जान चाहन्थिन। उनको मृत्यु हुँदा म उनको तातो शरीरको छेउमा तिमीहरू दुवैलाई पर्खिरहेको थिए। त्यतिबेला मेरा छोराहरू यहाँ भैदिएका भए तिमीहरूकि आमाले आँखा नखोले पनि उस्को आत्माले भन्थ्यो होला- कि मेरा दुवै छोराहरु आज हजुर संगै त छन ! हजुर धेरै दुखी नहुनु है ! भनी सम्झाउथिन होला ।

मलाई सान्त्वना दिन तिमीहरू मेरो साथमा मेरो नजिक होउ भन्ने चाहना थियो। जेठु ! अब मेरो मृत्यु पछि मेरो मृत शरीरको छेउमा तिम्रो प्रतीक्षा गर्ने कोही हुनेछैन किनकि तिम्री आमा मलाई छोडेर अघि गैसकिन। तिम्ले भाइसग खबर पठाको रहेछौ कि “तिमी आमाको पालामा जाउ म बुबाको पालामा जान्छु भनेर। अब भो जेठु! तिमी मेरो मृत्यु पछि मेरो चितामा आगो लगाउन नआउनु। म तिम्रो हातबाट अग्निदाह लिन चाहन्न। त्यसैले कान्छू नेपाल आएको छ अब हामी दुवैलाइ संगै उसैले आगो देओस। म यहि चाहन्छु। भो तिमी नेपाल आउन पर्दैन । तिमीलाई बिदा नमिल्ला। म पनि अब आमासँगै जानु राम्रो हुन्छ। मलाई बाँच्ने अधिकार छैन किनभने जुन समाजले जीवनभर धनको साथसाथै इज्जत पनि दियो, त्यही समाजलाई मैले तिमी जस्तो असभ्य नागरिक दिएँ ।

मेरो अन्तिम चाहना छ कि मेरो मेडल र फोटोहरू बटालियनमा फिर्ता होस्, आमालाई उपचार गरेर बाँकी रहेको पैसा केही कामदारहरुलाइ दिनु । बैंकको निक्षेपको आधा पुँजी वृद्धाश्रम सेवा केन्द्र देवघाटमा र आधा सैनिक कल्याणकारी कोषमा जम्मा गरिदिनु। मेघौलीको जमिन ज-जस्ले कमाइरहेका छन तिनै कुमाल र माझीहरुलाइ दिनु। यो पत्र तिम्रो हातमा नपुग्दै मैले विश्व धराबाट बिदा लिइसकेको हुने छु ।

तिम्रो बुवा !

हस्पिटलको प्राइभेट क्याबिनबाट गोलीको आवाज आयो । जर्नेल साहेबले आफैलाई गोली हानेछन !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट