दर्शकबाट ‘एक्टर: टेक टु’को माग, शनिवार तीन सय ३० स्क्रिनमा प्रदर्शन-Sutra News

दर्शकबाट ‘एक्टर: टेक टु’को माग, शनिवार तीन सय ३० स्क्रिनमा प्रदर्शन

शनिबार, १९ माघ २०८१

शनिबार, १९ माघ २०८१

काठमाडौं । विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ ।



यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्साइरहेका छन् । शनिवार दिउसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले ‘एक्टर: टेक टु’को माग गरे ।

चलचित्रको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘वि वान्ट टेक टु’को नारा लगाएका थिए । दर्शकबाट टेक टु को माग हुँदा कलाकारहरू उत्साहित हुँदै सेल्फी खिचे ।

चलचित्र हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन् । प्रदिप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यु अभिनयको तारिफ भएको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई रुचाइएको छ भने निर्देशकको व्यापक तारिफ भइरहेको छ ।

यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट