काठमाडौं । भारतीय संसद्मा अर्थमन्त्री निर्मला सीतारमणले आज भारतको बजेट २०२५/२०२६ सार्वजनिक गरेकी छन् । सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड (भारु) दिने उल्लेख छ । भारतले नेपाललाई यसअघिको वर्ष पनि सोहि रकम अनुदान प्रदान गरेको थियो ।
भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो । आर्थिक वर्ष २०२३/०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो । त्यसमा वृद्धि गरी २०२४/०२५ मा ७०० करोड (भारु) पुर्याइएको थियो । त्यसलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।
विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ । भुटानको बजेट यस पटक घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ ।
भारतले बङ्गलादेश र श्रीलङ्काको बजेट पनि यथावत् राखेको छ । बङ्गलादेशका लागि १२० र श्रीलङ्काका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ । तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ ।
मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक सिधै ६०० करोड भारु पुर्याइएको छ । पछिल्लो समय मालदिभ्ससँग भारतको राम्रो सम्बन्ध छैन । चीनले मालदिभ्सलाई गरेको सहयोगका कारण भारत र मालदिभ्सबिच सम्बन्ध खराब भएको छ ।
यस अवस्थामा पनि भारतले रणनीतिक हिसाबले अनुदान बजेटमा वृद्धि गरेको छ । तर त्यही म्यानमारको घटाएको छ । म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मङ्गोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् राखिएको छ ।