काठमाडौं । वानीरा फाउन्डेसनले नेपाली भाषा साहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा. रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
त्यस्तै चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने भएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेको फाउन्डेसनले जनाएको छ ।
साथै कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिए वापत कविवर कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गरिने भएको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको फाउन्डेसनका सदस्यसचिव रेन्द्रराज प्रसाईले जानकारी दिए ।