काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डले नेपाललाई चार विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी थिइन् । त्योसँगै नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो ।
नेपालका निम्ति कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौका समेत प्रहार गरिन् । विन्दु रावलले पनि २५ रन बनाइन् । उनले २५ बलमा तीन चौका हानिन् । कप्तान इन्दु वर्माले १५ रन बनाइन् ।
बलिङतर्फ थाइल्यान्डका निम्ति थिपचा पुत्थावोंगले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई/दुई तथा चानिदा सुत्थीरुआंगले एक विकेट लिए ।
१०२ रनको विजयी लक्ष्य थाइल्यान्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डका निम्ति नान्नापत खोन्चरोएन्कले अविजित ६० रनको योगदान गरिन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरिन् । सुवानान खियाओतोले १४ र कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् ।
बलिङतर्फ नेपालका निम्ति मनीषा उपाध्यायले दुई तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक/एक विकेट लिए ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।