विद्या भण्डारीको ‘वार्मअप’ले एमालेभित्र हलचल-Sutra News

विद्या भण्डारीको ‘वार्मअप’ले एमालेभित्र हलचल

सोमबार, २१ माघ २०८१

सोमबार, २१ माघ २०८१

काठमाडौं । माघ १४ मा विराटनगर ओर्लिएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले योबिचमा थुप्रै एमालेका नेता तथा कार्यकर्तालाई भेटिन् । उनले भेटघाट कार्यक्रमकै निम्ति इटहरीको एक होटलमा डेरा लिएकी थिइन् ।



भण्डारीले भेटघाटको सुरुवात अखिल नेपाल महिला संघका नेता तथा कार्यकर्तासँग सामूहिक छलफल गरेर गरेकी थिइन् । योबिचमा उनलाई भेट्न कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीसहित संघीय संसदका सभामुख देवराज घिमिरेसम्म पुगे । घिमिरे भण्डारीलाई भेट्न शनिवार उनी बसेकै होटल पुगेका थिए ।

विराटनगरबाट भण्डारीले भेटघाटको थालनी गर्दै गर्दा काठमाडौंमा भने केही हलचलका घटना देखियो । उनको भेटघाटलाई लिएर एमालेका शीर्ष तहकै नेताहरूले तरङ्गित देखिए ।

जसका बिच भण्डारीले पनि आफ्नो भेटवार्ताले काठमाडौंमा भुईँचालो गएकोसमेत भन्न भ्याइन् । “यहाँ आएर मैंले सुरु गरेको अभियानले काठमाडौंमा भुईँचालो गएको छ”, माघ १६ मा भण्डारीले भनेकी थिइन् ।

राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिए लगत्तै भण्डारीले आफूलाई सक्रिय राजनीतिमा उभ्याउन खोजेकी थिइन् । उनले २०८० असार १४ मै एक राजनीतिक आवरणको कार्यक्रममा उपस्थिति भएर राजनीतिक भाषण गरेकी थिइन् ।

जुन कार्यक्रममा उनी प्रमुख अतिथिको भूमिकामा थिइन् भने अहिलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष अतिथिको भूमिकामा थिए ।

त्यसयता उनी छिटफुट राजनीतिक भाषा झल्किने कार्यक्रममा उपस्थित भए पनि पछिल्लो भेटघाट कार्यक्रम भने खुला देखिएको छ । उनले एकातिर आफ्नै राजनीतिकको जीवनको प्रभाव क्षेत्रबाट सक्रियता बढाएकी छिन् भने अर्कोतिर सार्वजनिक अभिव्यक्ति पनि खुलारुपमै प्रस्तुत गरेकी छिन् ।

“जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा म अहिले प्रवेश गरेकी छैन”, भण्डारीले माघ १४ मा पत्रकार भेटघाटको चरणमा भनेकी छिन्, “भोलि जाँदा एमालेबाटै जन्मेर, हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ ।”

भण्डारीले आफ्नै प्रभाव क्षेत्रबाट सक्रिय राजनीतिको वार्मअप थाल्दै गर्दा एमालेको शीर्ष तहकै केही नेताहरू आपत्ति जनाउँदै टिप्पणीमा उत्रिएका छन् । नेताहरूले उनको सक्रियतालाई ‘नसुहाउँदो’ भनी टिप्पणी गरेका छन् ।

“सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो, त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक पनि उहाँहरू नै हो”, भण्डारीको अभिव्यक्तिपछि एमाले सचिव प्रदीप ज्ञवालीले भनेका छन्, “तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ ।”

उसो त पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भण्डारीको चाहनाप्रति रुखो टिप्पणी व्यक्त गर्ने गरेका छन् । उनले यसअघि नै सार्वजनिकरुपमै ‘राष्ट्रिय सम्मान लिएर बस्न’ भनेका थिए ।

ओलीले एमालेभित्र कुनै नेतालाई आफ्नो प्रतिस्पर्धी होस् चाहना राख्दैनन् । उनले नेतृत्वकै सन्दर्भमा पनि ‘आफ्नो जुँगा कालो हुँदै गएको’ भन्दै नेताहरूलाई तेर्साउने गरेका छन् । जसका बिच भण्डारीको चुनौती दिने गरी देखिएको वार्मअप असामान्य छ ।

विगतमा भण्डारीलाई राजनीतिक भूमिकामा अघि सार्न ओली स्वयम् सक्रिय बनेको देखिए पनि यस पटक उनको चाहना विपरीत नै घटनाक्रम विकास भइरहेको देखिन्छ । भण्डारी स्वयं ओलीलाई चुनौती दिने गरी अगाडि देखिएकी छिन् ।

भण्डारीको सक्रियताले एमालेभित्र एकातिर विभाजन ल्याएको छ भने अर्कोतिर ओलीलाई चुनौती थपिदिएको छ । एमालेका एक नेता भण्डारीको सक्रियतासँगै एमालेभित्रको राजनीति फेरिँदो भएको बताउँछन् । उनका अनुसार नेतृत्वको विकल्प खोज्ने र आलोचनात्मक चेत बोक्ने नेताहरू सक्रिय बन्दै छन् ।

“लोकतान्त्रिक अभ्यास भनिरहँदा एमालेभित्र कता–कता त्यो खुम्चिने अवस्था देखियो, नेताहरूमाथि पूर्वाग्रह साँधे जसरी कारबाही भयो”, उनी भन्छन्, “भण्डारी सक्रिय हुँदा नेताहरू सहज देखिएका छन् । यसले नतिजा के दिन्छ बेग्लै छ, यद्यपि एमालेलाई ठिक बनाउँछ भन्ने लाग्छ ।”

योबिचमा ओलीले झन्डै दर्जनको संख्यामा एकपछि अर्को गरी नेताहरूलाई कारबाही गरेका छन् । विशेषगरी आफू विरोधी अभिव्यक्ति दिने र आफ्ना निर्णयमा प्रश्न गर्नेमाथि अनुशासनको कारबाही गर्दै कतिपयलाई पार्टीबाटै निष्कासनसमेत गरेका छन् । जसमा भण्डारीको उपस्थिति ती कमजोर नेताहरूका निम्ति राहत हुन खोजेको देखिन्छ ।

सम्बन्धित समाचार

खुल्दै विद्या भण्डारी !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट