काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजारमा बृद्धि भएको छ । सोमबार २.४१ अंकले बढ्दै बजार २७३०को बिन्दुमा उक्लिएको हो ।
सोमबार सूचकमा सामान्य बृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । २ करोड ३७ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ८७ करोडको भयो । जुन आइतबारको तुलनामा केहीले कम हो ।
सोमबार कारोबारमा आएका ९७ कम्पनीको मूल्य बढेको छ भने १३७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको भने मूल्य स्थिर रहेको छ ।
सोमबार बजारमा ४० अंकको उतारचढाव भयो । सुरुवाती समयमा उच्च अंकले बढेको बजारमा मध्यान्हपछि गिरावट आएको थियो ।
यसअघि आइतबार ६९.८० अंकले बढ्दै बजार २७२७.५८ को बिन्दुमा उक्लिएको थियो । आइतबारको बृद्धिसँगै सोमबार बजारमा नाफा बुक गर्ने उच्च चाप देखियो । यद्यपि, जसलाई बजार पचाएको बजारका जानकारहरु बताउँछन् ।
“दुई कारोबार दिन जसरी बढ्यो, त्यसले करेक्सन ल्याउने अवस्था बनाएको थियो, तर, सोमबारको कारोबार तहलाई हेर्दा बजारले उच्च बृद्धिलाई पनि पचाएको देखिन्छ”, लगानीकर्ता तुलसीराम ढकालले भनेका छन् ।
सोमबारको कारोबारले बजारको उकालो यात्रालाई प्रष्टरुपमा देखाएको उनको बुझाई छ ।
विशेषगरी केन्द्रीय बैंक मौद्रिक समीक्षाको तयारीमा जुटिरहेको बखत नयाँ गभर्नरको चर्चा पनि बजारमा परेको देखिन्छ । सँगै, अध्यादेशमार्फत सरकारले कानुनहरु संशोधन गर्दै गर्दा लगानीकर्ता उत्साहित देखिन्छन् ।