काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पछिल्ला बैठकहरूमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन निरन्तर सहभागी छन् । पुन गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकमा पहिलो पटक सहभागी थिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको उक्त बैठकमा पुनलाई पदाधिकारीतर्फ उपाध्यक्षको हैसियतमा उपस्थित गराइएको छ । उनी उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, कृष्णबहादुर महरा र पम्फा भुसालसँगै बैठकमा सहभागी थिए ।
त्यसयता पनि उनी उपाध्यक्षकै लाइनमा बसिरहेका छन् । चाहे केन्द्रीय समिति होस् वा स्थायी समिति उनी उपाध्यक्षकै रोमा बस्ने गरेका छन् ।
तर, यतिका बैठकमा बसे पनि उनको जिम्मेवारी भने के हो भन्ने स्पष्ट भइसकेको छैन । प्रायः बैठकमा उनको जिम्मेवारीबारे छलफल भए पनि निर्णय हुन नसकेको नेताहरू बताउँछन् ।
“जिम्मेवारी तोक्ने अधिकार केन्द्रीय समितिले अध्यक्ष ज्यूलाई दिएको छ तर, अध्यक्षबाटै बैठकमा ठोस प्रस्ताव आउन सकेको छैन”, माओवादीका एक पदाधिकारी भन्छन्, “ठोस प्रस्ताव आउँदा छलफल होला, निर्णय आउला ।”
गत पुस २१–२३ सम्म बसेको केन्द्रीय समिति बैठकले नेताहरूको कार्य विभाजन टुङ्ग्याउने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । त्यसयता पटक–पटक पदाधिकारी बैठक बसेको छ । तर, प्रचण्ड स्वयंले निर्णायक प्रस्ताव गर्न सकेका छैनन् ।
पछिल्लो समय उत्पादन बिग्रेड बनाउने र सो जिम्मेवारी दिने विषयमा केही नेताहरूले छलफल चलाएका छन् । तर, ती पदाधिकारीका अनुसार उक्त एजेन्डाले पनि औपचारिकरुपमा बैठकमा प्रवेश पाएको छैन ।
“केही चर्चा चलाएका छन्, उत्पादन बिग्रेड भनेर तर, त्यस्तो ठोस प्रस्ताव वा छलफल भएको छैन”, ती पदाधिकारीले भने, “उत्पादनमा त सबै जोडिने भन्ने विषयमाथि भने छलफल भएको छ ।”
विशेषगरी पुनमाथि नै संशय उठ्ने गरी प्रश्नहरू छन् । यति बेला उनका परिवारका सदस्य नै कोही सहकारी ठगीमा डामिएका छन् त कोही सुन तस्करीमा । उनको नाम पनि उक्त प्रकरणहरूमा जोडिने गरेको छ ।
यस्तोमा अध्यक्ष प्रचण्डले सम्भावित विरोधलाई हेक्का राख्दै ठोस प्रस्ताव गर्न नसकेको स्रोत बताउँछ । जसका कारण पुनको भूमिका बैठकमा जाने र आउने मात्रै बनिरहेको छ ।