काठमाडौं । सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । यस्तै लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ ।
यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।
बैठकले माओवादीको तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।