निफको निर्णायक मण्डलमा दीपेन्द्र गौचन र सुरक्षा पन्त-Sutra News

निफको निर्णायक मण्डलमा दीपेन्द्र गौचन र सुरक्षा पन्त

सोमबार, २१ माघ २०८१

सोमबार, २१ माघ २०८१

काठमाडौं । आगामी चैत्र ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा रहने दुई सदस्य छनौट भएका छन् ।



छोटा चलचित्र तथा वृत्तचित्रतर्फ निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक समितिमा सदस्य रहने तय भएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूबिच छलफल तथा कार्यशालाहरू सञ्चालन हुनेछन् ।

महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ ।

एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट