काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका विभिन्न ६ अध्यादेश के हुने अन्योल देखिएको छ । प्रतिनिधिसभामा ५० र राष्ट्रियसभामा १६ सांसदले अध्यादेश अस्वीकार गरिपाऊँ भनी प्रस्ताव दर्ता गरेसँगै अध्यादेशबारे अन्यौलता सिर्जना भएको हो ।
कानुनी हिसाबले अध्यादेश दुवै सदनबाट पारित हुनुपर्छ । यदि दुवै सदनबाट अस्वीकृत भए अध्यादेश निष्क्रिय हुन्छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनसँग प्रस्ट बहुमत भए पनि राष्ट्रिय सभामा अहिलेसम्म बहुमतको अवस्था छैन । ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्दछ । तर, अध्यादेशको पक्षमा राष्ट्रियसभामा कांग्रेससँग १६, एमालेसँग १० र लोसपाका १ गरी जम्मा २७ सदस्य छन् ।
मनोनीत सदस्य अन्जान शाक्य पक्षमा देखिँदा अर्का मनोनीत सदस्य वामदेव गौतम निर्णयमा पुगेको देखिन्न ।
यता विपक्षमा माओवादी केन्द्रसँग १७, एकीकृत समाजवादीसँग ८ र राष्ट्रिय जनमोर्चासँग १ गरी २६ सदस्य पुगेका छन् । ३ सदस्य भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे खुलेको छैन । गणितका आधारमा राष्ट्रियसभामा जसपा नेपाल निर्णायक अवस्थामा देखिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार अध्यादेश दुवै सदनले अनिवार्य स्वीकृत गर्नुपर्छ । संविधानको धारा ११४ मा प्रस्ट रूपमा दुवै सदनबाट पारित भएपश्चात् मात्रै अध्यादेशको बाँकी प्रक्रिया अगाडि बढ्छ ।
अध्यादेश स्वीकृत भएमा सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ । प्रतिस्थापन विधेयक संसद् अधिवेशन सुरु भएको मितिले ६० दिनभित्र दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ । तर, अहिलेसम्मको अवस्थाअनुसार सो सम्भावना कम भएको देखिन्छ ।
जसपा नेपाललाई फकाउँदै सरकार
राष्ट्रिय सभामा गणितको अड्को देखिएपछि सत्ता पक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई फकाउन देखिएको छ । सत्ता पक्षले अध्यादेशमा सहयोग गर्न आग्रह गरेको छ ।
यद्यपि, जसपा नेपालले अन्तर्वस्तु र नियत नकेलाई सहयोग वा विरोध नगर्ने भन्दै आफूलाई रिजर्भ राखेको छ । जसबारे जसपा आन्तरिक छलफल थालेको छ ।
नेतृ रेखा यादवका अनुसार जसपाले विज्ञहरूसँग छलफल गरी अध्यादेशकाे अन्तर्वस्तु र नियत केलाएर निर्णय लिनेछ । “अध्यादेश ठिक/बेठिक भन्ने कुरालाई अन्तर्वस्तु र नियतको कडीमा राखेर हेर्छौँ, विज्ञहरूसँग सुझाव लिन्छौँ, त्यसपछि मात्रै हामीले के गर्ने निर्णय लिन्छौँ”, यादव भन्छिन्, “हामीले यसअघिदेखि नै भन्दै आएका छौँ, जसपा मध्य विन्दुमा छ भनेर । न हामी सत्ता पक्ष हो न त प्रतिपक्ष । हामी अन्तर्वस्तु र नियतलाई हेरेर मात्रै पक्ष र विपक्षमा उभिन्छौँ ।”
विगतमा सरकारलाई खुला हिसाबले समर्थन जनाउँदा उपेक्षामा परेको बुझाई जसपाभित्र छ । आफूहरूप्रति सरकारको नियत सही नदेखिएको बुझाइमा रहेको जसपाले निर्णायक अवस्थामा देखिएसँगै छलफल खोजेको छ ।
“सत्ता स्वार्थकै कारण हाम्रो पार्टी फोडियो, मधेसमा हामीलाई एक्लाइयो, सबै देखिएकै छ नि”, यादवले भनेकी छिन् ।
राष्ट्रिय सभामा निर्णायक पोजिसनमा देखिएको कारण जसपा नेपालले राजनीतिक हिसाब गरेर मात्रै निर्णय लिने संकेत गरेको छ । जुन हिसाब सरकारका लागि सामान्य नपर्ने देखिन्छ ।