ओलीसँग ढुक्क देउवा !-Sutra News

ओलीसँग ढुक्क देउवा !

मंगलबार, २२ माघ २०८१

मंगलबार, २२ माघ २०८१

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्यलाई लिएर बेला–बेला प्रश्न उठ्ने गरेको छ । विशेषगरी मुख्य सत्ता साझेदार नेपाली कांग्रेसभित्रबाटै आएका अभिव्यक्तिले नै ओली सरकार कहिलेसम्म ? भन्ने प्रश्न उठाइरहेको पाइन्छ ।



सरकारले ६ महिने अवधि पूरा गर्दै गर्दा आमरुपमा सरकारको भविष्यलाई लिएर प्रश्न चुलिएको थियो । विपक्षीले सरकारको मिति गन्दा सत्ता साझेदारहरु नै छटपटीमा देखिएका थिए ।

यद्यपि, आमरुपमा उठेका प्रश्नहरु विस्तारै मथ्थर हुँदै गएका छन् । चौतर्फी प्रश्न उठ्दा अप्ठ्यारोमा देखिएका प्रधानमन्त्री ओली अहिले क्रमशः कम्र्फट जोनमा देखिएका छन् ।

ओलीलाई कम्र्फट बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा सक्रियरुपमा देखिएका छन् । उनले ओली सरकारमाथि उठेका प्रश्नलाई अस्वीकार गर्दै सरकार सहमतिअनुसार नै जाने बताइरहेका छन् ।

मंगलबार पोखरामा आयोजित कांग्रेसको आन्तरिक कार्यक्रमलाई सम्बोधनका क्रममा पनि देउवाले ओलीको निकै प्रशंशा गरेका छन् । उनले ओलीलाई अश्विास गर्नुपर्ने कुनै कारण नरहेको भन्दै नेताहरुलाई सरकारबारे ढुक्क हुने आग्रह गरेका छन् । देउवाले ओलीसँगको जेल जीवनको कथा पनि जिल्ला नेताहरुलाई सुनाएका छन् ।

“वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ, धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो”, देउवाले भनेका छन्, “झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो, हामी मुख्य प्रतिस्पर्धी हौँ तर, पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।”

देउवाले कांग्रेस–एमाले गठबन्धन नै राजनीतिक स्थायित्वको लागि भएको दाबी गरेका छन् । सँगै, उनले सरकारको दिन गन्ती बन्द गर्न पनि नेताहरुलाई आग्रह गरेका छन् ।

“दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबिच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन्, अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ”, देउवाले भनेका छन्, “कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन, दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।”

यसअघि माघ ३ मा पार्टी संसदीय दलको कार्यसमिति बैठक बसालेर देउवाले ओली सरकारको विकल्प तत्काल नखोज्ने निर्णय नेताहरुलाई सुनाएका थिए । त्यसयता देउवाले चाहे अध्यादेशका सन्दर्भमा होस्, वा अन्य निर्णयका सम्बन्धलाई ओलीलाई सघाउँदै आएका छन् ।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा पनि देउवाले ओली सरकारको निकै प्रशंसा गरेका थिए । पार्टीभित्रकै असन्तुष्ट समूहलाई मथ्थर पार्ने गरी देउवाले सरकारको कामको समीक्षा गर्ने बेला नआएको समेत दाबी गरेका थिए ।

“नेपाली कांग्रेस ७ बुँदे कार्यान्वयनमा द्धढ छ, यो सहमति कार्यान्वयन हुनेछ, अन्य राजनीतिक दलहरूको पनि सहयोग रहनेछ भन्ने मैंले विश्वास लिएको छु”, संसद बैठकलाई सम्बोधनका क्रममा देउवाले भनेका छन्, “अहिले ६ महिनाको बिचमा जे–जति भएको छ, आशातीत छन्, भविष्यमा यो सरकारले थप राम्रो काम गर्नेछ भन्ने लागेको छ ।”

हुन पनि ७ बुँदे सहमतिको खाका देउवाकै अगुवाईमा असार १५ मा भएको बालकोट वार्ताबाट बनेको थियो । जसलाई असार १७ को मध्यराति औपचारिकता दिइएको थियो । सोही सहमतिको आधारमा ओली असार ३० मा प्रधानमन्त्री बनेका थिए ।

७ बुँदे सहमतिमा सरकारको आलोपालोसहित विभिन्न कुरा उल्लेख छन् । ७ बुँदे सहमतिअनुसार ओली २०८३ असारसम्म प्रधानमन्त्री हुनेछन् भने त्यसपछिको चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।

यद्यपि, संसदका विपक्षी दलहरु ओली सरकारको विकल्प खोज्न सिट नै गनेर लाग्दा कांग्रेसभित्रका असन्तुष्टहरु पनि सरकारको विकल्प खोज्न देखिने गरेका छन् । तर, देउवा भने ओलीप्रति ढुक्क हुँदै विरोधीलाई मथ्थर पार्न सक्रिय छन् । उनले आफ्नै अगुवाईमा भएको ७ बुँदेलाई कुनै पनि हालतमा नतोड्ने संकेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट