काठमाडौं । लगातार तीन कारोबार दिनको वृद्धिपछि साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १४.०८ अंकले घट्दै नेप्से २७१५.९१ को बिन्दुमा ओर्लिएको छ । समग्रमा मंगलबार नेप्से ०.५१ प्रतिशतले घट्यो ।
मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । १ करोड ६९ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको भयो ।
मंगलबारको कारोबार रकम ६ कारोबार दिनयताकै कम हो । यसअघि सोमबार ११ अर्ब ७१ करोड बराबरको कारोबार भएको थियो ।
दोहोरो अंकले परिसूचक घट्दै गर्दा आज जलविद्युत र अन्य समूहको सूचकबाहेक सबैका सूचकमा गिरावट आयो । सबैभन्दा बढी विकास बैंकको सूचक २.६० प्रतिशतले घट्न पुग्यो ।
आज कारोबारमा आएका १६२ कम्पनीको मूल्य घट्दा ७१ कम्पनीको मूल्य बढ्यो । ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज जोशी हाइड्रोको मूल्य १० प्रतिशत हाराहारीमा वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत हाराहारीले घट्यो ।
आज नेपाल इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट, नेपाल रि इन्स्योरेन्स, हिमालयन ऊर्जालगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे । नेपाल इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टको मात्रै ३० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारका जानकारहरूले मंगलबारको कारोबारलाई करेक्सनको रुपमा चित्रित गरेका छन् । लगातार तीन कारोबार दिनको उच्च वृद्धिपछि मंगलबार नाफा बुक गर्नेहरू सक्रिय हुँदा बजार घटेको जानकारहरूको भनाई छ । करेक्सनले बजारलाई अगाडि बढाउन सहयोग गर्ने गरेको छ ।