प्रचण्डको आत्मालोचना : जनताको अपार मायालाई हामीले पचाउन सकेनौ, भूँइ छाड्यौं-Sutra News

प्रचण्डको आत्मालोचना : जनताको अपार मायालाई हामीले पचाउन सकेनौ, भूँइ छाड्यौं

मंगलबार, २२ माघ २०८१

मंगलबार, २२ माघ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरु बिग्रिएको भन्दै आत्मालोचना गरेका छन् । मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको मायालाई माओवादीले सम्मान गर्न नसकेको भन्दै आत्मालोचना गरेका हुन् ।



प्रचण्डले जनताको विश्वास विपरित माओवादीहरुले भूँइ छाडेको बताए । “हामी माओवादीहरूलाई पहिलो चोटी जनताले अपार विश्वास गरेकै हो, कांग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो”, उनले भनेका छन्, “हामीलाई तपाईंहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो ।”

उनले अब कसम खाएरै आफूहरु जनताको घरदैलोमा फर्किएको दाबी गरे । “आखिर हाम्रो तागत जनताको तागत नै हो, हामी हिजो जंगलमा थिएनौं, जनताको काखमा थियौं, अहिले हामी काठमाडौंको जंगलमा भयौं, त्यहाँ पनि मजदुर र किसान छन्, ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु”, उनले भनेका छन् ।

आफूहरुलाई माफी दिन प्रचण्डको आग्रह छ । प्रचण्डले अब धरातलतर्फ फर्किएर जनताको सेवा गर्ने बताएका छन् ।

“हामीले केही त्रुटि गर्‍यौं, हामीले जुन वर्ग समुदायका लागि लडाईं लडेका थियौं, त्यो समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदै गयो, शंका पैदा हुने वातावरण पैदा हुँदै गयो”, प्रचण्डले भनेका छन्, “अब एकचोटी गल्ती सच्याउने, आफ्नै वर्गतिर फर्कने, फेरि शहिद, अपाङ्ग, दलित, आदिवासी जनजाती, मजदुर किसान, मुस्लिम, थारु, मधेशीको निम्ति फर्कने संकल्प गरेका छौं ।”

प्रचण्डले कहाँ चुकियो र अब के गर्ने भनेर खुलस्तरूपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको बताए । उनले फेरि पनि जनताको तागतका साथ अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट