चितवन । सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरूद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएअनुसार लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने तय भएको हाे ।
साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मंगलबार मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने मंगलबार राति नै चितवन पुगेर अदालतमा हाजिर भएका थिए ।
सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो। जसमा १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ।
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दामात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ। तर, जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
जुन घटनामा चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा भएकाे छ । लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएपछि महान्यायाधीवक्ताको कार्यालयमा तानेर उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधीवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको हाे ।