काठमाडौं । त्रिकोणात्मक महिला टी–२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो। १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो।
नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन्। फेबे मोल्केनबोयर पनि अर्धसतकबाट २ रनले नै चुकिन्।
कलिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९८ रन बनाइन्। मोल्केनबोयरले ४९ बलमा ४ चौकाको मद्दतमा ४८ रन बनाइन्।
७ जना बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।
पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्।
नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्।
इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्। नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे।
अब अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ। नेपाल जितविहिन भएसँगै फाइनलमा पुग्न पनि असफल भएको छ।