काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा राख्न आदेश दिएको छ ।
सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाइएको हो ।
न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएउने आदेश गरेको हो। उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ।
यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा कास्की र काठमाडौँ अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएका थिए। रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो। यी तीनवटै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए।
चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ।
उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ। अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ।