काठमाडौैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । यादवले बिहीबार बिहान ओली र देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भेटेका हुन् ।
आज नै सरकारले जारी गरेका अध्यादेशबारे निर्णय लिन जसपाले संसदीय दलको बैठक बोलाएको छ । जुन बैठकअघि यादवले ओली र देउवालाई भेटेका हुन् ।
जसपा नेपाल प्रवक्ता मनिष सुमनले ओली र देउवालाई भेटेको विषयमा संसदीय दलको बैठकमा छलफल हुने बताए । सुमनले छलफलका विषयबारे खोलेका छैनन् ।
सरकारले जारी गरेका अध्यादेशमाथि जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै गठन गरेर छलफल चलाइरहेको छ । कार्यदलको निष्कर्षको आधारमा नै निर्णय लिने बताइरहेको छ ।
स्वयम् यादवले पनि अध्यादेशका नियत र अन्तरवस्तुलाई केलाएर मात्रै पक्ष/विपक्षमा उभिने बताइरहेका छन् । उनले प्रारम्भिकरुपमै अध्यादेशमा खोट देखाइरहेका छन् ।
यद्यपि, संसदीय दलको बैठकअघि यादवले गरेको भेट अर्थपूर्ण छ ।
हाल राष्ट्रिय सभामा सत्तारूढ नेपाली कांग्रेसका १६, नेकपा एमालेका १० र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १ गरी २७ सदस्य छन्। राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम माैन छन् भने अञ्जान शाक्यले पनि सत्तारूढ गठबन्धनलाई साथ दिने देखिन्छ।
यस्तोमा सत्तारूढ दलहरूलाई बहुमत पुर्याउन कठिन छ । जबकि ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद चाहिन्छ।
यदि ३ सिट भएकाे जसपाले साथ दिएमा अध्यादेश स्वीकृत हुनेछ।
सम्बन्धित समाचार