काठमाडौं । साहारा चितवन सहकारीको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।
थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।
सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाबाट शम्भु कुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले बहस गरेका थिए ।
जाहेरवालाहरुको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठीसहित राजकुमार श्रेष्ठ र अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका हुन् । प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्तले बहस गरेका हुन् ।
चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ।
उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ। अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ।