काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तिका लागि सबै आयोजनाहरू एकै पटक बन्नुपर्ने बताएका छन् ।
शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने अवस्था छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरू बन्नुपर्छ । एकै पटक सुरु गरिएन भने अझै ६-७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।’
साथै उनले आयोजनाहरू छिटो बनाउनका लागि के के कुराको शब्दावली राख्नुपर्छ त्यो समितिले जानकारी दिन समेत आग्रह गरे । उनले विकास निर्माणमा भएको स्रोत साधनमा लगानी गर्न विदेशीहरूलाई गुहार्नुपर्ने अवस्था रहेको बताए ।