काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई सरकारी आठौँ तहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले सो निर्णय गरेको हो ।
आजको बैठकबाट आवासीय चिकित्सकलाई यसअघि तोकिएबमोजिम मासिक ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालेले जानकारी दिए ।
यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० असोज ३० गते पीजी अध्ययन गर्दै अस्पतालमा आवासीयको रूपमा काम गरिरहेका चिकित्सकलाई आठौँ तहका सरकारी चिकित्सकसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
तर, यही माघ १४ गते स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीको बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ताबारे सिफारिस गर्ने निर्णय गरेको थियो । निर्णयमा पारिश्रमिक कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार उपलब्ध गराउनुपर्ने भनिएको थियो ।
निर्णयको विरोधमा आवासीय चिकित्सक विगत १० दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।