कथा : “अपहरण”-Sutra News

कथा : “अपहरण”

...त्यही श्रीमती वैशको तीर्खा खप्न नसकेर अर्कैसँग सम्बन्ध गास्छिन । के यौनको आगो यति असह्य हुन्छ र ?

शनिबार, २६ माघ २०८१

शनिबार, २६ माघ २०८१

स्वयम्भुको भर्याङ बाट ओर्लिदै जादा एउटी अधबैसे महिला मेरो पछि पछि आउदै थिइन । हातमा एउटा प्लास्टिकको झोला थियो । झोला भित्र प्रष्ट देखिन्थ्यो फुटेको नरिबल, अबीर, धुप र देउतालाइ चढाइएको फूल । हेर्दा मङ्गोलियन अनुहारकी तिनी म भन्दा अलि जेठि देखिन्थिन । म अघि अघि उनी पछि पछि । कहिलेकाही समदुरिमा हुन्थ्यौँ हामी ।



मैले तिनको अनुहार हेर्न भ्याइसकेको थिए । अलिकति चिन्ताले कोपिला हालेको थियो आखाँमा । मुहारको मध्य भाग बाट ब्यथाको नदी बगिरहेको जस्तो देखिन्थ्यो । यस्तो लाग्थ्यो कि तिनले स्वयम्भुमा केही भाकलको पुजा गरेर आएकी थिइन ।

घरी घरी उन्ले मलाई हेरे जस्तो लाग्यो अनि यसो छलेर म पनि पुलुक्क हेर्न भ्याउथे। हामी एकले आर्कालाइ हेरिरहेका छौ भन्ने कुरा दुवैलाई थाहा थियो । उनी बोल्न खोजे जस्तो पनि लाग्छ । बाटो अलिक सागुरो आयो अब भने अझै नजिकियौ हामी । नजीक भएपछि बोल्न त्यति गाह्रो थिएन । उनले म सँग बोल्ने कुनै बहाना खोजे जस्तो लाग्यो ।

समय थाहा हुदाहुदै पनि मैले हातमा बाधेको घडी हेरे ।

त्यही बेला उन्ले सोधीन “कति बज्यो ?” स्वयम्भुको अन्तिम भर्याङ्गको खुड्किलामा आइपुग्दा बिहानको आठ बजिरहेको थियो । म शोभाभगवती तिर लम्किए । मेरै पाइला पछ्याउँदै उनी पनि आइन । समय भनिसकेपछी हाम्रो वार्तालाप बाक्लियो । नाम, काम, घर, थर, बर सबै सोधपुछ भयो । श्रीमान बितेको तीन बर्ष भएछ । असन न्हैकन्तलामा बुटिक चलाएर बस्दिरहिछन । सोर्हखुट्ठे पाटि हुँदै असन निस्कनु थियो मलाई पनि । शोभाभगवतीको पुलबाट म देब्रे लाग्न खोजे ।

हामी बिचको कुराले किनारा लाग्न पाएको थिएन । उनी अनुरोध गर्छिन मलाई न्हैकन्तला हुँदै जान । मैले नाइ भन्न सकिन । नारी जातीमा त्यस्तो के जादु छ कुन्नी एउटी अपरिचितले जता जाउ भने पनि उतै लाग्छ पुरुष । खोइ के ले छोप्छ कुन्नि मनलाई जता घुमाए पनि घुम्छ । बाटोमा सवारी आवागमन बाक्लिसकेको थियो ।

“मेरो बुटिकमा गएर चिया पिउने है ?” मलाई चियाको तलतल लागेको तिन्ले थाहापाई सकिछन ।

“बिहान मर्निङवाक गर्दा म चुरोट पिउदिन । तर यतिबेला सम्म भने म चिया र चुरोट हातमा लिएर पत्रीका हेरिरहेको हुन्थे ।”

“हजूर चुरोट पिउनु हुन्छ र ?”

“पिउछु तर त्यस्तो धेरै अम्मली चै होइन ।”

“रक्सी पनि पिउनुहुन्छ होला नि ?”

“पिउछु तर त्यस्तो जडया चै होइन ।”

“जुवा पनि खेल्नुहुन्छ होला नि ?”

“खेल्छु तर त्यस्तो जुवाडे चै होइन ।”

“केटी पनि खेलाउनु हुन्छ होला नि ?”

“खेलाउछु तर त्यस्तो फुडाे चै होइन “।

हिंड्दा हिड्दै उस्ले सोधेका धेरै प्रस्नहरुको जवाफ दिए । कुनै कुरा पनि ढाटिन मैले । नारीको अगाडि ढाट्न सक्दिन म किनभने ढाटेको कुरा महिलाले सिधै पत्ता लगाउछन । जे सोधी सिधै प्रतिउत्तर दिए । मलाई पनि प्रस्न सोधपुछ गर्न मन लाग्यो । फेरि माइन्ड पो गर्नी हुनकी जस्तो पनि लाग्यो । आ जे त होला आट दर्हो गरेर सोधे –

“चुरोट पिउनुहुन्छ ?”

“धित मारेर पिउछु ।”

“रक्सी पिउनुहुन्छ ?”

“मज्जाले पिउछु । आमाले बनाको कोदाको मात्रै ।”

“तास खेल्नुहुन्छ ?”

“खेल्छु तर प्रायः हार्छु कहिले जितेको थाहा छैन ।”

“केटा पनि खेलाउनुहुन्छ ?”

“मन मिल्ने संग मात्रै ।”

“मन मिल्ने कति जना भेटियो त आजसम्म ?”

“मन मिल्नेहरु प्रायः भेटिनन्न । भेटिएका पनि चाडै मेटिन्छन ”

“कतिजना पुरुष साथी छन ?”

“अतितमा एउटा थिए मेरा श्रीमान तर गाडी दुर्घटनामा बिते

छोटाे समयका लागि अनि …..”।

“गार्हो छैन बिधवा भएर बाच्न “?

“बाच्न नजान्नेलाई त गार्है होला तर म सहज ढंगले बाचिरहे ”

“एक्लो बाच्दा बोर हुदैन ?”

“कामले गर्दा जिन्दगी बारे सोच्ने फुर्सद नै हुदैन ।”

“अहिले को-को हुनुहुन्छ ?”

“म र मेरो बुटिक अनि समय ।”

“मलाई एउटा खत्तम पुरुष सोच्नु भो होला है ?”

“किन र ?”

“जे पनि गर्नी भएर ।”

“कसैको हत्या त गर्नुभएको छैननी ?”

“हैट छैन त्यस्तो अपराध पनि गर्छन ?”

“कसैलाई अपहरण त गर्नुभएको छैननी ?”

“एकचोटि त गरियो जिन्दगीमा ”

“आम्मा कस्लाइ नि ?”

“भुपु गर्लफ्रेन्डलाई ।”

“अनि अहिलेको बहालवाला श्रीमतीलाई होला हैन !”

“हजूर ।”

“हसाउने गला र फसाउने कला रहेछ तपाईं संग हाहा ।”

हास्दै बुटिकको सटर खोलिन उन्ले । न्हैकन्तला उसोत दिउँसै अँध्यारो गल्ली । त्यो माथी पनि धुम्म बादल लागेको दिन । जाडो अचाक्लि बढेको थियो । कुर्ता साडी र महिलाका भित्री अंगका कपडाले पुरै भरिएको थियो पसल । विभिन्न साइजका ब्रा र पेन्टीहरु झुन्डिएको भित्तामा एकजना पुरुषको श्यामश्वेत फोटोमा माला लगाएको देखे । हेर्दा निकै खाइलाग्दो र भलाद्मी पुरुष मेरो साथी दिक्पाल केसी को थियो । झसङ्ग भए । ऊनी सानो ग्यास चुलो बालेर चिया पकाउदै थिइन। कताकता मेरो मुखबाट दिक्पाल ! शब्द भन्न आएछ । म झस्केको देखेर उन्ले सोधिहालिन ।

“किन झस्केको ?”

“मेरो जिग्री दोस्त दिक्पालको फोटो यहाँ कसरी ?”

“मेरा भुपु श्रीमान तपाईंको साथी पो ?”

“भुपु चै कसरी ?”

“साथमा नभएपछि भुपु होइनत ?”

अलि मजाकमा र हासेर बोल्ने बानी रहेछ उनको ।

दिक्पालको फोटो देखेपछि कतारमा हामीले सँगै बिताएका रमाइला क्षणहरु सम्झिए मैले । उ र म एउटै म्यानपावर कम्पनीबाट गएको हेभी गाडी चलाउन । मालबाहक गाडी एकै रातमा दोहा देखि दुवइ पुर्याउथ्यो उ । र फर्किने बेलामा बोर्डर क्रस भएपछि फोन गर्थ्यो मलाई – “बाहुन बाजे दाल तडका र चिकन फ्राइ गर है मज्जाले खानुपर्छ भरे भ्याट सिक्स्टिनाइन दुई बोतल ल्याएको छु ।”

बेला बेलामा उ घर सम्झिन्थ्यो । भर्खरै बिहे गरेर आएको । बैशकी श्रीमती छोडेर बिदेश आउदा गाह्रो हुदोरहेछ भनेर गुनासो सुनाउथ्यो मलाई । हेभी गाडी चलाकलाइ हम्मेसी छुट्टी मिल्दैन । दुई बर्षसम्म छुट्टी नमिलेपछि उ दिक्क भाको थियो । पछि त श्रीमती संग झगडा हुन थाल्यो । र बिस्तारै फोन सम्पर्क पनि हुन छोडयो । रक्सी टन्न पिएर फोन गर्थ्यो श्रीमतीले वास्ता गर्न छोडेपछि उ जिन्दगी देखि नै बिरक्तिएको थियो ।

समय-समयमा जिन्दगी बारे सम्झाउथे म । तर उ बढी नै भावुक भैसकेको थियो । जिन्दगीका बारेमा बुझाउन खोज्यो भने त धेरै दार्शनिक नबन बाजे भन्थ्यो । सारै असल मिजासको थियो । बिहे गरेको पन्ध्रौं दिनमा घर छोडेर हिडेको उ दुई बर्ष सम्म छुट्टी नमिलेपछि मलाई प्रायः भन्थ्यो “अब मेरी श्रीमती पोइल गै होली ।” त्यस्तो केही होइन दिक्पाल चिन्ता नगर तिम्री श्रीमती तिमी घर नगएर पो रिसाउनु भएको पख म साहुलाइ भनेर तिमीलाई छुट्टी मिलाउने कोसिस गर्छु ।”

घरसंग सम्पर्क टुटेपछी “त्यत्रो पैसा खर्च गरेर बिहे गरेको न धन रह्यो न इज्जत रह्यो न श्रीमती नै बसि”

निन्द्रामा पनि यहि कुरा बडबडाउथ्यो उ ।

साहुको ब्यापार भ्याइ नभ्याइ थियो । छुट्टी मिल्ने कुरा पनि फेरि सेलायो । बिहे गरेपछि प्रायः नारीहरु सगोलमा बसेर सासू, ससुरा, नन्द, देवर र जेठानी, देउरानीको बुहार्तन खप्न सक्तैनन । त्यही गुनासो पोखी छ उस्की श्रीमतीले पनि र भएभरको कमाएको पैसा पठाइदिएछ श्रीमतीलाई । न्युरोडमा बुटिक खोलेकी छ त भन्थ्यो मलाई ।

कहिलेकाही म आफै पनि अति भावुक हुन्थे र सोच्थे । सम्पत्ती, समाज, बिहे, प्रेम, यौन, घृणा, नाता कुटुम्ब, छरछिमेकी, पसिना, आँसु, देश आदि आदि । श्रीमती कै लागि भनेर पचास डिग्रीको तातोमा श्रमको पसिनाले निभाउछ एउटा युवकले परिवारको भोक तर ! त्यही श्रीमती बैशको तीर्खा खप्न नसकेर अर्कै सँग सम्बन्ध गास्छिन । के यौनको आगो यति असह्य हुन्छर ? जो आफ्नो मान्छेको आँसु र सपनाहरूलाई समेत कुल्चिन बाध्य हुन्छे एउटी नारी ? किन सहन सक्तिनन धर्ती भनेर चिनिने नारीले बैशको आवेगलाइ ? बैशको भोक महत्त्व हो कि पेटको भोक महत्त्व हो मैले बुझ्न् सकेको छैन आजसम्म ।

यौनको मामिलामा मनुष्य कुकुर भन्दा पनि तल हुनेरहेछ । एक श्रुतुमा मात्रै चराचुरुङ्गी र जनावरहरु सन्तानोत्पती क्रियामा संलग्न हुन्छन तर मनुष्य हरबखत यौनको भोक पालेर बाचिरहेको हुन्छ अनि कसरी भन्ने मनुष्यलाई प्राणि भन्दा श्रेष्ठ ? मान्छे असामाजिक जनावर हो । सिङ मात्रै भाको भए उस्ले के बाँकी राख्थ्यो होला र आफ्नो सामान्य दुश्मनलाई पनि ।

गिलासमा तातो चिया र एउटा सुर्य चुरोट सल्काएर ल्याइ । उ सँग कुरा गर्दागर्दै म पनि यति भावुक भए छु कि मेरो जिग्री दोस्त दिक्पालको सम्झानामा आँसु नै खसेछन । भावुकताले खसेको आसुको केही थोपा चियामा कतिबेला मिसियो थाहै भएन ।

“आँखा रसिलो छ नि ?”

“जिग्री दोस्तको सम्झनामा”

“मैले त बिर्सिसके”

“अब किन सम्झिनु र ? सबै बन्दोबस्त गर्देकै रे छ ”

“अब लाग्छु म पनि ”

“बस्नुन के को हतार छ र ?

“मेरो पनि भुपु श्रीमतीले घरमा खाना बनाउदै होलिन ”

खोइ कुन्नी उस्ले कुरा बुझिकी बुझिन तर अब भने मलाई किन पो हो त्यहाँ एक्छिन उभिन पनि मन लागेन । उस्को मोबाइलमा अघिदेखिनै फोनको घण्टी बजिरहेको थियो तर उठाकि थिइनन खोइ किन हो । वातावरणलाई सहज बनाइदिदै म निस्किए । एक टुक्रा उदास बादल मेरो आँखा बाट हेलिदै असनको बुद्द स्तुपा माथी उडिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट