![04dd3684-7a1c-4f30-b812-769da66fdea0](https://www.sutranews.com/wp-content/uploads/2025/02/04dd3684-7a1c-4f30-b812-769da66fdea0.jpg)
![‘बालेन’ तिम्रो शहरबाट थोत्रा गाडी कहिले हटाउने ?](https://www.sutranews.com/wp-content/uploads/2025/02/04dd3684-7a1c-4f30-b812-769da66fdea0.jpg)
काठमाडौं । राज्यले राजस्व असुल्ने नाममा आवश्यकता भन्दा बढी कुनै पनि भौतिक बस्तुको आयात गर्छ भने कालान्तरमा त्यो अनुत्पादक र राज्यको लागि नै भार बनिदिन्छ । अहिले यातायातका सवारी साधनमा यस्तै भइरहेको छ।
जनसंख्या तीन करोड पनि नभएको एउटा सानो देश नेपालमा यातायातका साधनहरु भने सम्भवत तीन करोड पुग्न लागिसक्यो होला । राज्यभित्र जति पनि नयाँ गाडी भित्र्याइन्छ त्यतिनै मात्रामा पुराना थोत्रा गाडी बिस्थापित गरिएन भने एउटा सफा सहर – सहर नभएर यो केवल फलामै फलामको मृत चिहान जस्तै बन्छ ।
अहिले कान्तिपुर नगरको हालत करिब मृत सहरमा परिणत हुन लागिसकेको छ । बस बिसाउने स्थान छैन । बिच सडकमै रोकेर यात्रु ओराल्ने उकाल्ने काम गर्नुपर्ने अवस्था छ। हरेक एक किलोमिटरको पेरिफेरी भित्र यात्रु प्रतीक्षालय हुनुपर्छ र सडक किनारको दायाँबायाँ ५-१० फिट छोडेर यात्रु स्टेशन हुनु जरुरी छ । यातायात व्यवस्था विभागसंग कुनै निश्चित मापदण्ड पनि छैन, कुनै योजना पनि छैन, कुनै सवारी साधन निति पनि छैन। हाम्रा सडकमा अझैसम्म चालीस बर्ष पुराना गाडीहरु निर्वाध रूपमा गुडिरहेका छन। त्यस्ता गाडीलाई कसरी बिस्थापित गर्ने सरकारसंग कुनै योजना पनि छैन। २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने नीति २०७३ सालमा राज्यले निर्णय गरेता पनि फेरि त्यसमा सरकारले पुनरावलोकन गर्यो र त्यसपछि योजना नै कसैको दबाबमा निलम्बनमा पर्यो। व्यवसायीको अटेरीपनको कारण फेरि कानुनी गृहकार्य गरेर पुराना सवारी साधनलाई विशेष जाँचपास गराएर चल्न दिने व्यवस्था गर्न सरकार बाध्यात्मक अवस्थामा पुग्यो।
थोत्रा सार्वजनिक सवारी साधन विस्थापितन गर्नलाई २०७१ सालमा राज्यले सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएको दुई/बर्ष पछि २० वर्ष पुगेका सबै गाडी हटाइसक्ने नियम जारी गर्दा त्यस्को व्यापक बिरोध भयो। सरकार फेरि मौन रह्यो। पछि सरकारको त्यो निर्णय केही व्यवसायीको धरपकडका कारण, सरकार आफैले बनाएको नियममा मौन भैदियो र आजसम्म थोत्रा गाडीहरु सडकमा मज्जाले गुडिरहेका छन।
सवारी साधन जति पुरानो हुँदै गयो त्यस्को बदलामा हरेक बर्ष यातायात व्यवस्था विभागमा ब्लुबुक नविकरण गर्न जादा कर बढाउदै लाने सरकारको गलत नीतिका कारण अबका दिनमा केवल बालेन सिटि मात्रै होइन नेपालका प्रायः सबै सहर एकदिन कवाडी खानामा परिणत हुनेछ ।
सवारी तथा यातायात व्यवस्था ऐनमा २० वर्ष पुराना गाडी हटाउनुपर्ने प्रस्ट प्रावधान पनि छैन । तर, यातायात व्यवस्था विभागले आवश्यकताअनुसार पुराना गाडी नियन्त्रणमा भने लिन सक्छ । हरेक सवारी साधनको आयु गाडी चलाउने बाटो, चालक, गाडीले पार गरेको दूरी, समय-समयमा त्यसको यान्त्रिक चेक जाचमा भर पर्छ । हिफाजतले सुरक्षित भएर चलाएमा २० वर्ष भएर पनि गाडी सजिलैसँग चलिरहेको हुन्छ। हाम्रोमा निजि गाडीमा त्यस्तो समस्या छैन तर भाडाका गाडीहरु अत्यधिक असुरक्षित हुँदै गएका छन भने त्यस्ता सवारीसाधनमा किन प्रतिबन्ध नलगाउने या विस्थापित नगर्ने ? गाडीको अवस्था हेरेर सञ्चालन गर्न दिने कुरासँग सरकार सहमत भए पनि अहिले सार्वजनिक यातायातका सवारी साधनमा व्यापक लापरबाही छ।
हाम्रोमा चालकको लापरबाही, गाडीको कमजोर यान्त्रिक अवस्था र जीर्ण सडक पूर्वाधारलाई दुर्घटनाका मुख्य कारण मानिन्छ । यान्त्रिक गडबडी, ब्रेकफेल, ओभरलोड, टायर पन्चर, सवारी साधनको बत्ती लगायतका कारणले सडक दुर्घटना भैरहेको तथ्य छ। गाडीहरु जति पुराना हुँदै जान्छन् त्यतिनै त्यस्को यान्त्रिकले काम गर्ने शक्तिमा ह्रास आइरहेको हुन्छ। त्यसकारण पनि पुराना सवारी साधनलाई त्यस्को अवस्था हेरेर बिस्थापित गर्ने नीति कडाइका साथ लागू गर्नुपर्ने हुन्छ।
बालेन सिटिमा गुड्ने कुनै पनि सवारी साधनको यान्त्रिक चेकजाँच गर्ने हो भने यो पुर्ण रूपमा फेल हुने अवस्था छ।
हिजोआज सडकमा ट्राफिकले सार्वजनिक यातायातका सवारीसाधन बस, माइक्रोबस, भ्यान, ट्रक आदिको धुवाँ चेक जाँच गरिरहेका हुन्छन् । उहाँहरु केवल प्रदुषण मात्रै चेक गर्नुहुन्छ तर गाडीको यान्त्रिकता यति खत्तम भैसकेका हुन्छन् कि कहाँ गएर बसको छत खस्ने हो ? कहाँ गएर बसको ब्रेक फेल हुने हो ? कहाँ गएर बसको स्प्रीङ भाचिने हो ? कुनै टुंगो हुदैन । धुवाँ होइन बसको सम्पुर्ण यान्त्रिक चेक गर्न लगाउ जस्ले गर्दा यात्रुको जीवन सुरक्षीत रहन सक्छ ।
सरकारले नयाँ गाडी निरन्तर ल्याउने अनुमती दिइरहँदा राज्यको ढुकुटीमा राजस्व त बढ्ला तर त्यही अनुपातमा गाडी गुड्ने सडक नबन्दा सहरको ट्राफिक जाम यति भयावह हुँदै गएको छ कि गुडेर जानुभन्दा हिडेर सम्बन्धित गन्तव्यमा छिटो पुगिने अवस्था सिर्जना भएको छ । काठमाडौं महानगरपालिका भित्र यति धेरै थोत्रा र पुराना माइक्रोबस र टेम्पु चलिरहेका छन कि त्यस्ले नगरको सौर्न्दर्यलाई नै ध्वस्त बनाइरहेका छन। ब्याट्री र ग्यासबाट चलाइरहेका पुराना माइक्रोबस र ट्याम्पुहरुको घिनलाग्दा स्वरुप हेर्दा सहर नै १६ औं सताब्दीको जस्तो लाग्छ । यस्ता गाडीहरुलाइ राज्यले या स्थानीय सरकारले किन गुडाउने अनुमती दिइरहेको छ यस्को जवाफ कसैसँग पनि छैन ।