काठमाडौं । पाथीभरामा केबलकार बनाउन लागिएको विषयलाई लिएर स्थानीले विरोध जनाउँदै गर्दा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले धार्मिक आस्थालाई क्षति नपुर्याइ पाथीभरामा केबलकार बनाउन लागिएको बताएका छन्। पाथीभरामा पाँचतारे होटल निर्माण गर्ने भन्ने हल्ला रहेको बताउँदै यातायातको साधनकोरूपमा केबलकार निर्माण गर्न लागिएको बताएका हुन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकार मन्दिर छेउँमै पुर्याउने नभई ७०० मिटर टाढा टप स्टेसन रहेको बताए। टप स्टेसनमा अक्सिजनसहितको आधारभुत स्वास्थ्य संस्थाबाहेक अरू पूर्वधार नहुने बताए।
कतिपयले मन्दिरको भेटीमा चन्द्र ढकालले आँखा लगाएको भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति जनाए। अहिले काम गरिरहेका श्रमिकलाई रोजगारी ग्यारेन्टी गर्ने उनको प्रतिबद्धता छ।
केबलकार निर्माणको कुल लागत करिब ३ अर्ब रूपैयाँ रहेको उनले बताए। हालसम्म पूर्वतयारीका काम सकिएको र ३ वर्षअघि अर्को व्यवसायिक घरनाले राखेको प्रस्तावमा सहमत भएर अधिकांश सेयर खरिद गरेको उनले बताए बताए।
सार्वजनिक सुनुवाइमा ३०० जना उपस्थित भएकोमा ३ जनाले मात्रै विरोध गरेको उनको दाबी छ। अधिकांश स्थानीय केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेको उनले बताए। अहिले विरोध गर्नेहरू जिल्ला बाहिर र नेपाल बाहिर बसेकाहरू रहेको उनको भनाइ छ।