किन रोकिएन नेप्सेमा गिरावट ?-Sutra News

किन रोकिएन नेप्सेमा गिरावट ?

आइतबार, २७ माघ २०८१

आइतबार, २७ माघ २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आइतबार ११.४९ अंकले घट्दै नेप्से २६८८.३१ को बिन्दुमा ओर्लिएको छ ।



यसअघि गत साताको अन्तिम तीन कारोबार दिन नेप्सेमा लगातार गिरावट आएको थियो । मंगलबार १४.०८ अंकले घटेको नेप्से बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले घटेको थियो ।

आइतबार सूचकमा गिरावट भएसँगै कारोबार रकममा पनि झिनो गिरावट आएको छ । १ करोड ५८ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँको भयो ।

जुन ९ कारोबार दिनयताकै कम हो ।

आज कारोबारमा आएका अधिकांश समूहको सूचक घटेको छ । १३ समूहमध्ये ४ को सूचक घट्दा ९ को सूचक बढ्यो । व्यापारको सूचक १.३९ प्रतिशतले बढ्दा विकास बैंकको सूचक १.३५ प्रतिशतले घट्यो ।

आज कारोबारमा आएका कम्पनीमध्ये १६८ को मूल्य घट्दा ६८ को मात्रै मूल्य बढ्यो । ६ कम्पनीको स्थिर रह्यो ।

दोहोरो अंकले घटेको भएपनि नेप्सेमा सेन्टर फाइनान्स र गार्डियन माइक्रो लाइफको मूल्य १० प्रतिशतले बढ्यो ।

आइतबारको कारोबारले बजारमा लगानीकर्ता सक्रिय नै भएको देखाउँछ । न्यून अंकको गिरावटलाई वेवास्ता गर्दा उच्च भोलुमले आगामी दिन बजार बढ्न सक्ने सम्भावनालाई दर्शाएको छ ।

बजारका जानकार जगतजंग जिसी अहिले ठूला लगानीकर्ताहरु साना लगानीकर्ताहरुको मनोविज्ञानमाथि खेलिरहेको बताउँछन् । उनका अनुसार ठूला लगानीकर्ताले मनोविज्ञान बिगारेर सेयर खोसिरहेका छन् ।

“अहिलेको कारोबार सामान्य तहको छैन, यसले ठूला लगानीकर्ताको सक्रियता देखाउँछ”, जिसी भन्छन्, “यद्यपि, यो गिरावट भने सानाको मनोविज्ञानमाथि खेल्ने र सेयर खोस्ने शैलीमा आएको देखिन्छ ।”

उनले साना लगानीकर्तालाई ध्यान दिएर लगानी गर्न सुझाएका छन् । सँगै, ट्रेण्डलाई हेरेर बेच्च नआत्तिन पनि सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार