

काठमाडौं । केही समयदेखि नै सुनको मूल्य लगातार जसो उकालोमा छ । लगातार जसो वृद्धिका बिच सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ । जुन भन्सारदर घट्नुअघिको तुलनामा जम्मा ८ सय रुपैयाँले मात्रै कम हो ।
भन्सारदर घट्नुअघि कात्तिक १५ मा सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
गत मंसिर ६ मा बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सारदर घटाउने निर्णय गरेको थियो । भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको थियो । भन्सारदर घटाउने निर्णय मंसिर १० गतेदेखि कार्यान्वयमा आएको थियो ।
भन्सारदर घटेसँगै सुनको मूल्यमा तोलाकै १५ हजार ९ सय रुपैयाँले गिरावट आएको थियो । भन्सारदर घट्नुअघि मंसिर ९ मा प्रतितोला एक लाख ६७ हजार २ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य मंसिर १० मा १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
विशेषगरी दक्षिणी छिमेकी देश भारतमा सुनको भन्सारदर ६ प्रतिशतमात्रै कायम रहँदा नेपालमा २० प्रतिशत थियो । जसले वैधानिक बजारलाई प्रभावित बनाएको गुनासोपछि नेपालमा भन्सारदर घटाउने निर्णय गरिएको थियो ।
मूल्य निरन्तरजसो उकालोमा
सुनको मूल्य निरन्तरजसो नै उकालोमा छ । महासंघका अनुसार पछिल्लो एक महिनाको बिचमा सुनको मूल्यमा १५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ ।
गत माघ १ मा प्रतितोला १ लाख ५५ हजार रुपैयाँको दरले किनबेच भएको सुनको मूल्य माघ २९ मा आउँदा प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ ।
महासंघले जनाएअनुसार पछिल्लो एक सातामा मात्रै सुनको मूल्यमा प्रतितोला ५ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।
पछिल्लो एक महिनाको तथ्यांकलाई हेर्दा, केही कारोबार दिनमा सामान्य करेक्सन आए पनि सुनको मूल्य निरन्तरजसो नै उकालोमा रहेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढिरहँदा चाँदीको मूल्यमा भने खास धेरै उतारचढाव देखिएको छैन ।
विश्व बजार र डलरको भाउको प्रभाव
विश्व बजारमा मूल्यमा आउने उतारचढावको प्रभाव स्थानीय बजार पर्ने गर्दछ । अहिले विशेषगरी अन्तर्राष्ट्रिय रूपमै सुनको मूल्य बढिरहेको छ ।
गोल्ड प्राइस वेभ पोर्टलका अनुसार पछिल्लो १ महिनामै विश्व बजारमा सुनको मूल्यमा प्रति औंश २६२ डलरले वृद्धि भएको छ । जनवरी १२ मा प्रतिदंश २६५९ डलर रहेको सुनको मूल्य फेब्रुअरी ११ मा आइपुग्दा प्रतिदंश २९२१ डलर पुगेको छ ।
नेपालमा एकातिर विश्व बजारमा भइरहेको सुनको मूल्य वृद्धिको प्रभाव स्वरूप मूल्य बढिरहेको छ भने अर्कोतर्फ डलरको भाउमा भएको वृद्धिको प्रभाव पनि परिरहेको देखिन्छ । हुन पनि पछिल्लो एक महिनामा डलरको भाउ ३.३६ रुपैयाँले वृद्धि भएको छ । गत जनवरी ११ मा १३६.६४ पैसा विनिमय दर रहेकोमा फेब्रुअरी ११ मा आइपुग्दा १४०.२७ रुपैयाँ पुगेको छ ।
विशेषगरी अमेरिकी राष्ट्रपतीय चुनावको मुखमा विश्व बजारमा सुनको मूल्यमा गिरावट आएको थियो । तर, राष्ट्रपतीय चुनावपछि भने विश्व बजारमा सुनको माग बढिरहँदा मूल्य पनि उकालोमा लागेको देखिन्छ ।
मूल्य बढ्दा स्थानीय बजारमा कस्तो प्रभाव ?
सुनको मूल्य बढिरहँदा स्थानीय बजार प्रभावित भएको छ । व्यवसायीहरूका अनुसार मूल्य बढिरहँदा किन्नेभन्दा बेच्ने धेरै देखिएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्षसमेत रहेका सुनचाँदी व्यवसायी धर्मसुन्दर बज्राचार्यका अनुसार अहिले वैवाहिकलगायतका विभिन्न कार्यक्रमको निम्ति बाध्यात्मकरुपमा मात्रै सुन किन्नेहरू छन् ।
“यो विवाह तथा व्रतबन्धको सिजन हो, जसको कारण मानिसहरूले बाध्यात्मकरुपमा सुनचाँदी किनिरहेका छन्”, बज्राचार्य भन्छन्, “सिजनको कारण बाध्यात्मक किन्नेहरू धेरै भए पनि सिजन बेच्ने पनि उत्तिकै छन् । यदि सिजन नभएको खण्डमा बेच्ने धेरै हुन्थे ।”
अहिले बजारमा ३० देखि ३५ केजीको सुन खरिद–बिक्री भइरहेको उनको भनाई छ । तर, उच्च मूल्य वृद्धिसँगै सिजन सकिँदा किन्नेहरू निकै कम हुन सक्ने बज्राचार्य बताउँछन् ।