

काठमाडौं । सेयर बजारमा लगातार चलेको पहिरो थामिएको छ । लगातार पाँच कारोबार दिनदेखि चलेको पहिरो मंगलबार एकल बिन्दुले बढ्दै रोकिएको हो ।
मंगलबार सेयर बजार ६.५४ अंकले बढ्दै २६८३.८६ को बिन्दुमा उक्लिएको छ ।
समग्रमा सूचक बढेपनि यस दिन अधिकांश समूहका भने सूचक बढ्न सकेनन् । यस दिन सबैभन्दा बढी विकास बैंक समूहको सूचक २.३७ प्रतिशतले बढेको छ । सँगै, जलविद्युतको सूचक पनि १.५७ प्रतिशतले बढेको छ । अन्यमा भने झिनो अंकको उतारचढाव भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको भने मूल्य बढेको छ । १३४ को मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।
आज ४ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।
लगातारको पहिरो थामिएपनि सेयर बजारमा कारोबार रकम भने घटेको छ । १ करोड ३९ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँ बराबरको भयो ।
जुन अघिल्लो दिनको तुलनामा बढी हो ।
मंगलबार सूचक र कारोबार रकममा भएको बृद्धिले बजारले पुनः उकालो यात्रा समाउन सक्ने संकेत गरेको छ ।