![Airport_Traveller](https://www.sutranews.com/wp-content/uploads/2025/01/Airport_Traveller.jpg)
![ट्रम्प प्रशासनको नीतिपछि २० नेपाली फिर्ता, अन्यको स्थिति के होला ?](https://www.sutranews.com/wp-content/uploads/2025/01/Airport_Traveller.jpg)
काठमाडौं । अमेरिकामा अवैधरूपमा बस्दै आएका गैर कानुनी आप्रवासीहरूलाई उसले धमाधम स्वदेश फिर्ता पठाउँदै छ । गत साता अवैध भारतीय आप्रवासीहरू बोकेको पहिलो विमान अमृतसर एयरपोर्टमा ओर्लिएको थियो । यो उडानमा धेरैजसो अवैध आप्रवासीहरू पन्जाबका थिए । जुन घटना अहिले विश्वभर नै चर्चामा छ ।
अमेरिकाले उसको देशमा गैरकानुनीरूपमा आप्रवासनमा बसेका विश्वका धेरै देशहरूका नागरिकहरूलाई फिर्ता पठाउँदै छ । ट्रम्प प्रशासनले नागरिकता ऐनमा पनि धेरै कडाइको नीति लिएको छ ।
ट्रम्प प्रशासनको पछिल्लो नीतिअनुसार अमेरिकामा अवैध बाटो (स्थल मार्ग) भएर घुसेकाहरू पहिलो टार्गेटमा परेका छन् । यो स्थल मार्गलाई ‘डन्कि मार्ग’को नामबाट चिनिने गर्दछ । खास गरेर मेक्सिकोको चोर बाटो हुँदै अमेरिका प्रवेश गरेर बिना कागजपत्र बस्नेहरू अवैध काममा संलग्न हुन्छन् र तिनीहरूको यतिबेला व्यापकरूपमा खोजी भइरहेको छ ।
यो डन्कि मार्ग भएर अवैधरूपमा अमेरिका प्रवेश गरेका प्रायः सबै आप्रवासीहरू पासपोर्ट नै लिएर बसिसकेका भए पनि उनीहरूलाई मुख्य टार्गेट बनाइएको छ ।
मानव बेचबिखन गर्ने दलालीहरूको सहयोगमार्फत तिनीहरू अमेरिका प्रवेश गर्ने भएकोले पनि उनीहरू पहिलो टार्गेटमा परेका छन् । अमेरिकामा अवैधरूपमा बसोबास गरेकाहरूको नाउँमा अपराध दर्ता भएको छ कि छैन भनेर छानबिनसमेत सुरु भएको छ ।
त्यस्ता केसको सेक्सनहरू परीक्षणको प्रारम्भिक चरणमै थाहा हुने भएकोले यस्ता केस लागेका व्यक्तिहरू निष्कासनको पहिलो चरणमै पर्नेछन् । अमेरिकामा अवैध आप्रवासनमा बस्दा सामान्यतया: त्यस्ता केस र वित्तीय पेनाल्टीमा एक वर्षदेखि सात वर्षसम्म दण्ड सजाय हुने प्रावधान छ ।
डन्कि मार्ग प्रयोग गरी पाँच/सात महिना लगाएर अमेरिकामा शरणार्थी बन्न पुग्नेमा नेपालीहरू पनि ठूलै संख्यामै छन् । पहिलो चरणमा अवैध आप्रवासनको रूपमा नेपाल फर्किन लागेका नेपालीहरूको संख्या १ हजार ३६५ जना बताइए पनि यो संख्या व्यापक वृद्धि हुने सम्भावना छ, किनकि डन्कि मार्ग (अवैध स्थल मार्ग) प्रयोग गरेर अमेरिका प्रवेश गर्ने नेपालीको संख्या करिब सात हजार जति भएको अनुमान लगाइएको छ ।
ट्रम्प प्रशासनको नीतिपछि २० नेपाली पनि अमेरिकाबाट निकालामा परिसकेका छन् । त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएअनुसार फेब्रुअरी ११ सम्म २० नेपाली फिर्ता भएका हुन् । अमेरिकाले अवैध आप्रवासीलाई आक्रामक ढंगले देश निकालाको अभियान चलाउँदै गर्दा थप अन्य नेपालीहरू पनि क्रमशः देश निकालामा पर्न सक्ने सम्भावना छ ।
केही महिना अगाडि रुकुम रोल्पाका कतिपय सिङ्गो गाउँ नै अवैध बाटो भएर अमेरिका पुगेको समाचार भाइरल भएको थियो ।
डन्कि मार्गमार्फत, मानिसहरू युरोपियन र अमेरिकी देशहरूमा शरण लिन्छन् । बेलायत, क्यानडा जस्ता देशहरूमा समेत यस्तै अवैध बाटोको प्रयोग गरी आप्रवासीहरू देश प्रवेश गर्छन् । यस्तो खालको मार्ग पहिला पेशेवर अपराधीहरूले देश छोड्नको लागि प्रयोग गरेका हुन्थे ।
यो डन्कि मार्ग प्रयोग गर्न धेरै जोखिमपूर्ण छ । चरण चरणमा खतरा छ । धेरै पटक मानिसहरू मारिन्छन्, मर्छन् । अवैध रूपमा धेरै देशहरूको सीमा पार गर्न सजिलो छैन, त्यसैले यो एकदमै खतरनाक छ, किनकि सिमानामा अवैध रूपमा घुसपैठ गर्नेहरूमाथि गोली पनि बर्सिन्छन् । कहिलेकाहीँ, प्रतिकूल मौसम र खानाको अभावका कारण पनि मानिसहरू भोकले मर्दछन् ।
नेपालीहरू पचासौँ लाख खर्च गरेर स्थल मार्ग हुँदै अमेरिका प्रवेश गर्न थालेको २०औँ वर्ष अगाडि नै देखि हो । अमेरिका पुगिसकेका कति मानिस अझैसम्म कागजविहीन अवस्थामा छन्, त कतिले अस्थायी रूपमा बस्ने अनुमति पाए त कतिले ग्रीन कार्ड लिइसकेका छन् ।
ट्रम्प प्रशासनले अब अवैध बाटो भएर अमेरिका प्रवेश गरेका आप्रवासीहरू जसले पासपोर्ट र ग्रीनकार्ड लिइसकेका भए पनि तिनलाई वैधानिक नमान्ने भनेर नीति बनाउन लागेको कुरा बाहिरिएको छ । अब सम्भवतः अवैध बाटोबाट अमेरिका स्थायी रूपमा पासपोर्ट नै लिएर बसेका जोकोही पनि देश निकाला पर्ने सम्भावना बढेर गएको छ ।