

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । बुधबार १.८६ अंकले बढ्दै सेयर बजार २६८५.७३ को बिन्दुमा उक्लिएको छ ।
१३.४६ अंकको उतार चढावका बिच सेयर बजारमा १.८६ अंकको सुधार आएको हो ।
सूचकमा सुधार आउँदै गर्दा कारोबार रकममा पनि बृद्धि भएको छ । बुधबार १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको भयो ।
आज सबैभन्दा धेरै फाइनान्सको सूचक १.५६ प्रतिशतले बढ्यो । आज १३ समूहमध्ये ४ समूहको सूचकमा बृद्धि हुँदा अन्यमा सामान्य गिरावट आएको छ ।
कारोबारमा आएका १३४ कम्पनीको मूल्य बढ्दा ९९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
यसअघि लगातार गिरावटका बिच मंगलबार सूचकमा ६.५४ अंकको बृद्धि भएको थियो । सँगै कारोबार रकममा पनि सुधार आएको थियो ।
बुधबारको कारोबार रकम र सूचकमा भएको बृद्धिले लगानीकर्ता सकारात्मक रहेको संकेत गर्दछ । बजार थप अगाडि बढ्ने सम्भावनालाई पनि दर्शाएको छ ।