

काठमाडाैं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो ।
उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलमा संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र संघका पदाधिकारीलाई छलफलका लागि बाेलाएका थिए । उनले संघले राखेकामध्ये जायज माग सम्बोधन गर्ने आश्वासन दिए ।
संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो । संघले ६ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ ।
मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पेस गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले संघको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।