

प्रीय दीप !
सुमधुर सम्झना अनि मुटुभरिको माया ।
म यहाँ तिम्रो सम्झनाको छहारीमा आराम-कुशल नै दिनहरू व्यतीत गरिरहेकी छु । आशा छ, तिमी पनि कुशल-मङ्गल नै छौ होला । मनमा सधैं तिमी आराम रहेको सोचेर मेरो दिनको सुरुवात हुन्छ । प्रेममा विश्वास हुनुको आधार त्यो पनि एक हो नि दीप ! जुन दिन तिमीसङ्ग भेट भयो, त्यो दिनदेखि तिमीले मेरो हृदयमा डेरा जमायौ । आजकाल प्रेममा पनि एउटा गए अर्को आउँछ भन्ने जमाना छ, तर म त्यस्तो छैन नि ! मेरो रोजाईमा सदा सर्वदा तिमी थियौ र हुनेछौ । भलै दुरीको हिसाबले हामी एकदिनले टाढा छौ । भौतिक मिलन भन्दा पनि अमर प्रेममा अभौतिक प्रेमको महत्व हुनेरहेछ ।
प्रीय दीप, तिमीसंगै मैले मेरो प्रेमको नयाँ नाम राखेकी छु । मेरो प्रेमील यात्राको सहायात्री थियौ तिमी । मेरा पाइलाहरु केवल तिम्रै खुट्टाले चल्थे । मेरो खुशी तिम्रो खुशी थियो । मलाई लागेको चाेटले तिम्रो मन दुख्थ्यो । तिम्रो भोक मेरो दुई शब्दमा हराउँथ्यो । सोच्दथें- हिजोका मुना-मदन, मालती-मङ्गले र रोमियो-जुलिएटलाई बिर्सनेछ संसारले र प्रेमको इतिहासमा तिम्रो र मेरो नाम जोडिनेछ । दीप र दीपा । जहाँ प्रेम मात्र छ । केबल प्रेम ।
हाम्रो प्रेमलाई अमर बनाउन सक्दो प्रयास गर्थ्यौ हामी । सोच्दथ्यौँ कि- हामीले रोपेका प्रेमका वृक्षहरुमा फलेका फलहरुले सबै प्रेमिल आत्मालाई तृप्ती दिनेछ । ती वृक्षहरु हुर्काउँदाको प्रेमिल समयले सबैमा शितलता प्रदान गरेको थियो र त्यो सतत: शान्तिमय गुल्जारले म अझैसम्म झन्कृत छु।
ओहो…! दीप, हामीले रोपेको त्यो गुलाफको बोट । सम्झ त दीप, तीखो काँडा सँगसँगै हाँगामा फुलेको त्यो रातो गुलाफको फुल ।
आहा दीप! त्यो फूल टिपेर तिमीले मेरो शिरमा सिउरिदिँदा लाजले म भुतुक्कै भएकी थिएँ है ! हामीले बिताएका ती प्रेमील समय अझै मेरो मन मस्तिष्कमा नाचीरहन्छन् हरघडी छमछम्ती । त्यो स्वर्गीय आनन्दमा रमेर हामी कयौंपटक लुकिलुकी भेट्ने गर्थ्यौ । लामो यात्रा पछिको भेटमा भोकले आकुलव्याकुल हामी दुई एउटै चक्लेट आधाआधा मिलेर खान्थ्यौँ । हामी दुई पीपलको छहारीमुनि अँगालिंदा बोटमाथीका चराहरुको चिरबिरले आपसमा नजिक पुगेका ओठहरुको मिलन गराउँदाको त्यो पल ! कस्तो उफान आउँछ सम्झिदा पनि अहिले । चन्द्रमाको सहाराले आधारातमा लुकिछिपी प्रेम पत्र पढ्नु । भौतिक अभाव रहेपनि साँच्चै आनन्दमय थियो हाम्रो प्रेम ।
दीप, आज म तिम्रो प्रेममा बेस्सरी रोए त्यो आनन्द अतीत सम्झेर। तिम्रो सुदूर सम्झनालाई यो वर्तमानको प्रेम-पत्रमा उतार्दै गर्दा यतिबेला म आफ्नै घरमा छु र म ठीक छु । अनि म एक्लि पनि छैन । सायद तिमीलाई ज्ञात छ यो सत्य ।
प्रिय, मानव भएर जन्मेपछि जीवन चलाउनका लागि आवश्यक पर्ने श्रोत-साधन सबै छ मसँग । तर साथमा भएको ठुलो परिवार, टन्न सम्पती, ऎस-आराम सबै-सबैले खुशी दिन सकेनन् मलाई । खोइ किन-किन म खुशी अनि सुखी छैन । यदि म सुखी अनि मेरो मन खुशी छैन भने के गर्नु ती आँखाले देख्ने खुसी र शारीरिक सुखसयल!
प्रिय, परिवारभन्दा प्रेम अग्र भागमा हुँदोरहेछ । संसारको सबैभन्दा ठुलो चिहान मान्छेको मन रहेछ । हो, त्यस्तै चिहान जस्तै भएको छ मेरो मन । कहिलेकाहीँ त मनमनै भन्छु- तिम्रो र मेरो माया मरेको तिथि-मिति थाहा पाउन पाए बरु एकछाक जुठाे बार्ने थिएँ।
प्रीय दीप, म कमजोर त पक्कै होइन । यति मात्र हो कि आजकाल मैले मौनता र एक्लोपनसङ्ग गहिरो नाता गाँसेकीछु । कोलाहलभित्रै छु तर एक्लै छु । तिमी त मेरो लागि देउता जस्तै भयौ जति चाहेर पनि पाउन नसकिने र देख्न भेट्न नसकिने केवल लेख्न मात्रै सकिने त्यो पनि आँसुको मसिले !
किन यस्तो भयौ दीप ? किन यसरी दुख्यो तिम्रो मन ? तिमीलाई हृदयमा राख्नुभन्दा पहिले मैले धेरैको मन दुखाएकी थिएँ हाम्रो प्रेमका लागि । आज त्यहि तिम्रो प्रेमले सबैभन्दा धेरै मेरो मन दुखाउँछ । थाहा छ प्रिय, मानिसहरू बदलिन्छन्, समय बदलिन्छ तर त्यो समय र ती मानिसभित्र तिमीलाई कतै पनि देख्दिन म । अनि मेरो एक्लोपनले आजभोलि मलाई नै भन्ने गर्छ,- कयौं सपनाको हत्या प्रेमले गर्छ र सजाय निर्दोष जिन्दगीले पाउँछ । म त्यही सजाय भोग्दैछु यतिबेला । खै किन हो, तिम्रो माया धेरै लाग्छ । कहिलेकहिँ त तिम्रो सम्झनामा म आफैंलाई बिर्सिदिन्छु ।
भनिन्छ- सबैथोकले भरिपूर्ण भएको मानिसलाई प्रेमको अभाव छ भने ऊ खाली हुन्छ रे । म पनि त्यस्तै खाली भएकी छु । प्रेम त दिलको श्री रहेछ । कुनै भौतिक कुराले दिल खुसी नहुँदो रहेछ । दिलको खुराक त माया पो रहेछ, केवल तिम्रो माया । यतिबेला म भावशून्य भएकीछु । बिचार शून्य छ । लाग्छ; मेरो जिन्दगी यस्तै नै रहेछ, भिरको फूल जस्तै । तिम्रो प्रेम प्रती सर्वात्मा म डुबेकि थिएँ, तर तिमी एकाएक टाढा भयौ । किन तिमी परिवर्तन भयौ दीप ? तिमीले यस्तो गर्यौ कि मेरो जीवनको सबै कुरा सक्कियो । अब हामी कहिल्यै भेट्दैनौं, अब हाम्रो सुमधुर सम्बन्धबाट अलग्गियौं हामी ।
दीप, मैले कहिले पनि यस्तो क्षण कल्पना गरेकी थिइनँ । म आफ्नो प्रेममा माफ दिन लायककि पनि रहिनछु भन्ने लाग्दैछ मलाई । आफूले पुज्ने गरेका देउताप्रती तिमीलाई साँच्चै विश्वास लाग्छ र ईश्वर छन् भन्ने लाग्छ भने म तिमीलाई कहिले पनि घात गर्ने छैन । दीप ! मेरो प्रेम ! म त हिमाल हूँ । तिम्रो प्रेमको किरण सदा अँगालिरहन्छु । तिम्ले बिर्सिए पनि । तिम्ले छोडे पनि । तिम्ले कुल्चिए पनि …।
सदास्मरणीय र परमप्रीय दीप !
म हाम्रो साझा प्रेमको एकोहोरो नौका खियाउँदा-खियाउँदा थाकिसकेकी छु । मेरो मन खत्रक्कै गलिसकेको छ । यद्यपि, तिमीप्रतीको मेरो अनुराग एकरत्ति घटेको छैन ।
म हिजोभन्दा आज र आजभन्दा झन् भोलि अझै बढी तिम्रो प्रेमको पारख गर्नेछु । यसै पनि प्रेम भन्ने चिज बजारमा बेच्न राखिएको भौतिक चिज किमार्थ होइन । जसलाई छिनछिनमा भाउ घटबढ गर्न ।