

काठमाडौं । २०५२ फागुन १ गते ‘जनयुद्ध’ घोषणा गर्दा तत्कालीन नेकपा (माओवादी)को कोर टिममा १९ जना नेता थिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्रीको जिम्मेवारीमा थिए भने उनीपछि मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, पोस्टबहादुर बोगटी, हरिभक्त कँडेल र सिपी गजुरेल थिए । उनीहरू सबै पोलिटब्युरो सदस्यको रूपमा थिए ।
यसैगरी, हरिबोल गजुरेल, यानप्रसाद गौतम, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, पम्फा भुसाल, दण्डपाणि न्यौपाने, अग्नि सापकोटा, फणिन्द्र आचार्य, लोकेन्द्र विष्ट, हरिभक्त कँडेल, मातृका यादव, दिनेश शर्मा र नारायण शर्मा केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।
यही १९ जनाको नेतृत्वले जनयुद्धलाई उत्कर्षमा पु¥याउने काम गरेको थियो । ११ वर्षसम्म चलेको यही युद्धकै कारणले मुलुकमा गणतन्त्रसम्म आउने अवस्था बनेको थियो । जनयुद्धकै जगमा भएको जनआन्दोलनले मुलुकमा व्यवस्था परिवर्तन सम्भव भएको थियो ।
यद्यपि, व्यवस्था परिवर्तनको १८ वर्षमा माओवादी यति धेरै छिन्न भिन्न बन्यो कि माओवादी नै कुन हो भन्ने छुट्याउन सहज छैन । मूल नेतृत्वको रूपमा प्रचण्डलाई हेर्दा, माओवादी केन्द्रलाई तत्कालीन माओवादी धाराको मूल शक्ति भन्न सकिएला । तर, तत्कालीन माओवादीको कोर टिमलाई आधारमा मान्दा माओवादी केन्द्रलाई तत्कालीन माओवादीको मूल धारा नै हो भन्न सकिन्न ।
एकातिर माओवादी केन्द्र पनि नेकपा (एमाले)सँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा शाखा हो भने अर्कोतिर तत्कालीन माओवादीको कोर टिमलाई आधार मान्दा तत्कालीन माओवादीका एक तिहाइ सदस्य पनि माओवादी केन्द्रमा छैनन् । १९ नेतामध्ये जम्मा ६ जना मात्र अहिले प्रचण्ड नेतृत्वको पार्टीमा छन् ।
सँगै, तत्कालीन माओवादीमा पोलिटब्युरोमा रहेका ६ सदस्यमध्ये माओवादी केन्द्रमा प्रचण्ड मात्रै एक्ला नेता हुन् ।
जनयुद्धताका दोस्रो नेताको रूपमा रहेका मोहन वैद्य ‘किरण’ले २०६९ मा नै माओवादीबाट अलग भएर बेग्लै पार्टी गठन गरेका थिए । अहिले उनी क्रान्तिकारी कम्युनिस्ट पार्टी नामक पार्टीको महासचिव हुन् ।
तत्कालीन माओवादीमा तेस्रो नेताको हैसियतमा रहेका डा. भट्टराई पनि यति बेला नेपाल समाजवादी पार्टीमा अध्यक्षको जिम्मेवारीमा छन् । उनले २०७२ मा नै माओवादी त्यागेर नयाँ शक्ति पार्टी गठन गरेका थिए । योबिचमा उनले आफूलाई माओवादी मात्रै नभई कम्युनिस्ट पनि भन्न रुचाउँदैनन् ।
भट्टराईपछिका नेता रामबहादुर थापा बादल यति बेला नेकपा (एमाले)मा छन् । उनी डबल नेकपाको विभाजनपछि एमालेतर्फ लागेका थिए । उनी एमालेमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।
बादलले एमालेलाई नै मूल कम्युनिस्ट पार्टी मान्ने गरेका छन् । सँगै, उनले नेपालमा माओवादी आन्दोलनको बिर्सजन भइसकेको अभिव्यक्ति दिने गरेका छन् ।
प्रचण्डकै नेतृत्वको पार्टीमा रहँदै नेता पोष्टबहादुर बोगटीको निधन भएको थियो । बोगटीपछिका नेता सिपी गजुरेल पनि यति बेला माओवादी केन्द्रमा छैनन् । उनी मोहन वैद्यसँगै २०६९ मा प्रचण्ड नेतृत्वको पार्टीबाट बाहिरिएका थिए ।
तत्कालीन माओवादीका केन्द्रीय सदस्यमध्येका हरिबोल गजुरेल, देवप्रसाद गुरुङ, पम्फा भुसाल, अग्नि सापकोटा र मातृका यादव मात्रै अहिले प्रचण्ड नेतृत्वको पार्टीमा छन् ।
माओवादीलाई गन्ती गर्न गाह्रो
शान्ति प्रक्रियामा आए यताको १८ वर्षको अवधिलाई केलाउँदा माओवादीमा निकै विग्रहको लहर चल्यो । यो अवधिमा माओवादी १८ भन्दा बढी टुक्रामा विभाजित भए ।
हालै एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवले माओवादीहरू १९ घटकमा विभाजित भएको बताएका थिए ।
“माओवादी साउनको भेल जस्तै भयो, कहाँ–कहाँ पुग्यो”, विप्लवले भनेका थिए, “एक साथीले डायरीमा टिप्नु भएछ, १९ वटा पुर्याउनु भएछ, मैले भने– एउटा थप्नुस् २० हुन्छ, २१ हुन्छ ।”
हुन पनि माओवादीमा फुटको सुरुवात शान्ति प्रक्रियाको आसपासबाटै भएको थियो । निर्णायक युद्धको अन्तिम समयमा २०६२ फागुन २९ मा नेताहरू रवीन्द्र श्रेष्ठ र मणि थापा माओवादीबाट अलग्गिएका थिए । युद्ध कालमै छँदा श्रेष्ठ र थापा बाहिरिएको विषयले माओवादीमा ठूलो कम्पन आएको थियो ।
पछि २०६५ पौषमा एकता केन्द्रसँगको एकताप्रति असन्तुष्टि जनाउँदै नेता मातृका यादव अलग्गिए । यादवले बेग्लै पार्टी निर्माण गरे ।
त्यसयता क्रमशः माओवादीमा विभाजनको लहर चल्यो । २०६९ असारमा वैद्यको नेतृत्वमा झन्डै एक तिहाइ सदस्य अलग भएका थिए । यद्यपि, वैद्यको समूहमा पनि लगत्तै विभाजनको चक्र चल्यो । नेता नेत्रविक्रम चन्द विप्लव, २०७१ भदौमा वैद्य समूहबाट बाहिरिएका थिए ।
२०७१ सम्म आइपुग्दा माओवादीहरू १० टुक्रामा विभाजित भएको थियो ।
माओवादीमा विशेषगरी वैद्य नेतृत्वको समूह र भट्टराई नेतृत्वको समूहको विभाजन अर्थपूर्ण छ । सँगै, योबिचमा विप्लव, आहुति, गोपाल किराँती, मणि थापा, प्रभु शाहलगायतले बेग्लै पार्टी चलाएको विषयले निकै अर्थ राख्छ ।
कोही राजावादी भए त कोही रामवादी
यति बेला केही माओवादीहरूले २९ वर्षअघिको घटनालाई सम्झिएर ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । जसमध्ये माओवादी केन्द्रसहित केही घटकले औपचारिक कार्यक्रम गरेका छन् भने अन्यले दिवसलाई खास वास्ता गरेका छैनन् ।
हुन पनि योबिचमा माओवादीहरू अनेक अनुहारमा देखिए । कोही राजावादी भए त कोही रामवादी ।
‘प्रचण्डले जनतामाथि गद्दारी गरेको’ आरोप लगाउँदै २०६९ मा माओवादीबाट अलग भएका वैद्यले यति बेला संवैधानिक राजसंस्था आवश्यक भएको बताउन थालेका छन् । उनले बाह्य शक्तिको आडमा व्यवस्था परिवर्तन सही नभएको मात्रै बताएका छैनन्, यहीँका शक्तिहरूबिच नयाँ सहमति आवश्यक भएको बताएका छन् ।
वैद्य संवैधानिक राजसंस्थाको पक्षमा उभिइरहँदा माओवादीबाटै विभाजित भएर नयाँ शक्ति अभियानमा देखिएका बाबुराम आफूलाई कम्युनिस्टसमेत बताउन चाहँदैनन् । नयाँ शक्ति गठन गर्दै गर्दा बाबुरामले अभिवादको रूपमा ‘राम राम…’ भनेका थिए । उनले कम्युनिस्ट आन्दोलनको औचित्य सकिएको बताउने गरेका छन् ।
योबिचमा बनेका अन्य साना माओवादी घटकहरू कोही जातिवादी समूहमा देखिएका छन् भने कोही क्षेत्रीयतावादी बनेका छन् । चर्चित नेता गोपाल किराँती यति बेला ‘मुक्कुमलुङ बचाऊ अभियान’लाई चलाएर तेस्रो पहिचानको आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताइरहेका छन् ।
जनयुद्ध दिवसमै प्रश्न
११ वर्षे जनयुद्धको अपनत्व कसले लिने भन्ने प्रश्न उब्जिरहँदा जनयुद्ध भन्ने शब्दमाथि नै यति बेला प्रश्न छ । सर्वोच्च अदालतले जनयुद्ध शब्द संविधान विपरीत भएको भन्दै सरकारी कामकाजमा प्रयोग नगर्न आदेश गरेसँगै शब्दमाथि नै अर्को खालको राजनीति भइरहेको छ ।
जसमा सबैभन्दा बढी पूर्वमाओवादी घटक विभाजित छन् ।
यति बेला जनयुद्ध वा सशस्त्र संघर्ष वा हिंसा के भन्ने प्रश्न देखिन्छ । स्वयम् तत्कालीन माओवादीका सैन्य कमान्डर रामबहादुर थापा बादलले जनयुद्ध हिंसा थियो भन्ने गरेका छन् । उनले त्यो हिंसात्मक आन्दोलनको च्याप्टरसमेत सकिएको भन्दै केहीले त्यहीको नाममा राजनीति गरिरहेको भन्दै आलोचना गरेका थिए ।
यति बेला बादलको भनाइले माओवादीहरू विभाजित छन् । प्रचण्ड नेतृत्वको पार्टीका नेताहरू बादलविरुद्ध खनिँदा अन्य माओवादी घटकहरू पनि जनयुद्ध शब्दमाथि बोल्न थालेका छन् ।
यद्यपि, जनयुद्ध दिवसमाथि प्रश्न उठ्नुको पछि जनयुद्धकै अपनत्व कसैले लिन नखोज्दा पनि समस्या आएको देखिन्छ । अहिले मुख्य घटक माओवादी केन्द्रभित्रै चुनाव चिन्ह फेर्ने विषयमा मात्रै बहस छैन, पार्टीको नाम नै के राख्ने बहस चलिरहेको छ ।
२०८० फागुनमा भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई हेर्दा, स्वयम् माओवादी आफ्नै इतिहासबाट भाग्न खोजेको देखिन्छ । “माओवादी नामसँग युद्धकालीन छाप छ, त्यसले पछिल्लो नीति र विधिलाई साक्षात्कार गर्न सक्दैन” भन्ने तर्क माओवादी केन्द्रभित्र छ ।