

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले) व्यवस्था उल्ट्याउन लागि परेकाे आराेप लगाएका छन् । उनले कांग्रेस-एमाले संविधान संशाेधन नभइ संविधान नै च्यात उद्धत भएकाे बताए ।
शुक्रबार माओवादी केन्द्र जिरी नगरपालिकाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे आराेप लगाएका हुन् । ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्,’ प्रचण्डले भनेका छन्, ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’
प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भनेकाे भन्दै प्रचण्डले गठबन्धन संविधान संशाेधनमा इमान्दार नभएकाे बताए । ‘अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्, यसबाट उनीहरू संविधान संशोधनमा इमानदार छैनन् भन्ने देखिन्छ’, प्रचण्डले भनेका छन् ।
माओवादीले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा जाेडदाररूपमा अघि सार्ने प्रचण्डकाे भनाइ छ ।