

काठमाडौं । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आत्महत्या गरेको घटनापछि न्याय माग गर्दै प्रदर्शन गर्ने नेपाली विद्यार्थीहरू कलेजबाट निष्कासित भएका छन् । कलेज प्रशासनले उनीहरूमाथि बल प्रयोग गरी निष्कासन गरेको हो ।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाली विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि कलेज प्रशासनले एक सूचना जारी गर्दै सबै नेपालीलाई कलेज छाड्न उर्दी गरेको थियो ।
“नेपालका सबै विद्यार्थीका लागि विश्वविद्यालय बन्द गरिएको छ, तसर्थ, उनीहरूलाई फेब्रुअरी १७ भित्र क्याम्पस खाली गर्न निर्देशन दिइन्छ”, कलेजले जारी गरेको सूचनामा भनिएको छ ।
कलेजको उर्दीपछि केही विद्यार्थीहरू आफैँ कलेजबाट निस्किएका थिए भने केहीलाई जबरजस्ती बसमा हालेर रेल्वे स्टेसन छाडिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा विद्यार्थीहरूलाई लगेजसहित गाडीमा ओसारिएको देखिन्छ । विद्यार्थीहरूले आफूहरूलाई बिचल्लीमा पारेको बताएका छन् ।
लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेको विद्यार्थीहरूले बताएका छन् । दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई निष्कासित गरेको हो ।