

काठमाडाैं । क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ। अब यो विमान दुर्घटनाको तस्बिर र भिडियोहरू बाहिर आएका छन्, जसबाट दुर्घटनाको गम्भीरता अनुमान गर्न सकिन्छ।
वास्तवमा विमान अवतरणको क्रममा नियन्त्रण बाहिर गयो र पल्टियो। भाग्यवश, यति ठूलो दुर्घटना भए पनि, सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित छन्।
विमान पल्टिँदा केही घाइते भएका छन्, उनीहरूकाे उपचार चलिरहेकाे छ ।
दुर्घटनाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। एउटा भिडियोमा एक महिला यात्रु अवतरणपछि सिटमा उल्टो झुण्डिएको देखिन्छ।
वास्तवमा, उनले सिट बेल्ट लगाएकी हुनाले, विमान पल्टिँदा उनी लडिनन्, बरु विमान पल्टिएका कारण उनी उल्टो झुण्डिएकी थिइन्।
ती महिलाले पनि दुर्घटनाबाट बाँच्न पाएकोमा खुशी व्यक्त गर्दै भगवानलाई धन्यवाद दिइन्।
दुर्घटनाको सम्झना गर्दै अर्का यात्रुले दुर्घटनाको समयमा उनीहरू विमानमा चमेरो जस्तै उल्टो झुण्डिएको बताए। ती यात्रुले पनि दुर्घटनाबाट बाँचेकोमा आफूलाई भाग्यमानी बताए र दुर्घटनाबाट बाँचेपछि आफू यति खुसी भएको बताए कि उनले आफ्नो छेउमा बसेको अपरिचित व्यक्तिलाई अँगालो हाले।
डेल्टा एयरलाइन्सको विमान सोमबार दिउँसो अमेरिकाको मिनियापोलिसबाट उडेको थियो र क्यानडाको टोरन्टोको पियर्सन विमानस्थलमा अवतरण गर्ने तालिका थियो। तर धावनमार्गमा हिउँ जमेका कारण पाइलटहरूले अवतरणको क्रममा नियन्त्रण गुमाए र विमान धावनमार्गमा चिप्लिएर पल्टियो। एजेन्सीबाट