माओवादीको आरोप- नेपाली विद्यार्थीकाे मृत्यु प्रकरणमा सरकारको कूटनीतिक अक्षमता प्रदर्शन भयो-Sutra News

माओवादीको आरोप- नेपाली विद्यार्थीकाे मृत्यु प्रकरणमा सरकारको कूटनीतिक अक्षमता प्रदर्शन भयो

मंगलबार, ६ फाल्गुन २०८१

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारको असक्षमताको कारणले ओडिसामा नेपाली विद्यार्थीहरूले असुरक्षा र अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएको छ ।



भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत्यु भएकी प्रकृति लम्सालको न्यायोचित छानबिनको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले गरेकाे व्यवहारमा सरकारकाे अक्षमता जाेडिएकाे बताएकाे हाे ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले त्यस घटनामा कूटनीतिक अक्षमता प्रदर्शन गरेको बताए । उनले सरकारको यो शैलीप्रति निन्दा गर्ने बताए ।

‘सिंगो नेपाल र नेपालीमाथि धावा बोलियो । तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन्’, उनले भनेका छन्, ‘यसप्रति माओवादी केन्द्र घाेर निन्दा गर्छ ।’

भारतसँग तत्काल उच्चस्तरीय राजनीतिक संवाद गरी समस्या सुल्झाउन सापकाेटाकाे माग छ ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विद्यार्थी मृत्यु प्रकरणमा सरकार निकै कमजोर देखिएको टिप्पणी गरेको छ । रास्वपाले दुई तिहाईको दम्भ सिंहदरबार र संसद भवनमा मात्रै देखिएको टिप्पणी गरेको छ ।

“नेपाली विद्यार्थीमाथि ज्यादति मात्रै भएन, अपमान पनि भयो, तर त्यसमा सरकार बोल्न सकेन”, रास्वपा सांसद मनिष झाले भनेका छन्, “दुई तिहाईको दम्भ सिंहदरबार र संसद भवनमा मात्रै देखियो । यो निकै दुःखद विषय हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट