माफी मागेकाे कलेज प्रशासनले फेरि विद्यार्थीलाई जबरजस्ती आन्दोलन नगर्न गरायो हस्ताक्षर-Sutra News

माफी मागेकाे कलेज प्रशासनले फेरि विद्यार्थीलाई जबरजस्ती आन्दोलन नगर्न गरायो हस्ताक्षर

मंगलबार, ६ फाल्गुन २०८१

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडौं । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को प्रशासनले विद्यार्थी प्रकृति लम्सालको मृत्युसम्बन्धी घटनामा न्याय माग्दै आन्दोलन गर्ने नेपाली विद्यार्थीलाई चरम ज्यादती गर्दै कलेजबाट निष्कासित गरेको थियो । नेपाली विद्यार्थीलाई छानीछानी बलजफ्ती कलेजबाट निष्कासित गरिएको थियो ।



कलेज आफैँले विद्यार्थीलाई जबरजस्ती ट्रेन स्टेसनसम्म पुर्‍याएको थियो । निष्कासन गर्नुअघि कलेज प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीलाई कलेज छाड्न उर्दी जारी गरेको थियो ।

तर, कलेज प्रशासनको यस्तो रवैयाको चौतर्फी आलोचनापछि आफैँले लेखेटेका विद्यार्थीलाई फिर्ता गराउन मध्यरातमा प्रहरी नै खटाइयो । सोमबार मध्यराति प्रहरी विद्यार्थीलाई फर्काउन ओडिशाको बलेश्वरस्थित ट्रेन स्टेसन पुगेका थिए ।

प्रहरीले केही विद्यार्थीलाई जबरजस्ती शैलीमा कलेजको होस्टल फिर्ता गराएको छ । सँगै, विवादबाट जोगिन कलेजका सार्वजनिकरुपमा माफी मागेको छ ।

कलेजका उपकुलपति प्रा. सरनजीत सिंहले घटनाप्रति माफी मागेका छन् । उनले आगामी दिनमा यस्तो नहुने पनि प्रतिबद्धता पनि गरेका छन् ।

“हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि हामी दुःखी छौं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै हानि पुर्‍याएका छैनौँ”, विज्ञप्तिमा भनिएको छ, “हामी पनि सबै कुराको लागि माफी चाहन्छौँ र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौँ ।”

योबिचमा कलेजले नेपाली विद्यार्थीमाथि ज्यादती गर्ने कर्मचारीलाई निलम्बित गरेको छ । होस्टेलका दुई अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारी र दुई जना सुरक्षा गार्डलाई निलम्बित गरिएको छ ।

तर, सँगै कलेज प्रशासनले होस्टेलमा फर्किने विद्यार्थीलाई आन्दोलन नगर्ने सर्तमा हस्ताक्षर गर्न लगाएको छ । हस्ताक्षर गर्न नमान्ने विद्यार्थीलाई जबरजस्ती गरिएको पनि विषय बाहिरिएको छ ।

जुन घटनापछि विद्यार्थी थप सशङ्कित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट