

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको बृद्धि भएको छ । आइतबार र सोमबार लगातार दोहोरो अंकले बढेको नेप्से मंगलबार पनि ११.९१ अंकले बढेको हो । मंगलबारको कारोबारसँगै नेप्से २७३९.८२ को बिन्दुमा उक्लिएको छ ।
समग्रमा दोहोरो अंकले परिसूचक बढेपनि मंगलबार अधिकांश समूहको सूचक भनेको छ । ७ समूहको सूचक घट्दा ६ समूहको सूचक मात्रै बढ्यो ।
सबैभन्दा बढी अन्यको सूचक ३.६७ प्रतिशतले बढ्दा सबैभन्दा बढी विकास बैंकको सूचक १.७४ प्रतिशतले घट्यो । आज कारोबारमा आएका १४९ कम्पनीको मूल्य घट्दा जम्मा ८७ कम्पनीको मात्रै मूल्य बढ्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
परिसूचकसँगै मंगलबार कारोबार रकममा पनि बृद्धि भएको छ । १ करोड ८२ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ४३ करोड रुपैयाँमाथिको भयो । जुन १२ कारोबार दिनयताकै उच्च हो ।
आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, पिपुल्स हाइड्रोलगायत शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै ८२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
मंगलबारको कारोबारलाई हेर्दा, हाइ क्याप कम्पनीको किनबेच उच्च देखिन्छ । बजारमा सामान्य करेक्सन हुन खोजेपनि हाइक्यापका कम्पनीको किनबेचले बृद्धिलाई कायमै राखेको देखिन्छ । कारोबार रकममा पनि भएको बृद्धिले ठूला लगानीकर्ता सक्रिय भइरहेको संकेत गर्दछ ।