

काठमाडाैं । अमेरिकामा विपक्षी दलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कविरूद्ध सडक प्रदर्शन थालेका छन् । केही दिनदेखि नै विपक्षीहरूले ट्रम्प र उनको नीतिहरूको विरुद्धमा सडक प्रदर्शन थालेका हुन् ।
विपक्षीहरूले ‘राष्ट्रपति पद, राजा होइन’ भन्ने नारा लगाएका छन् । साेमबार प्रदर्शनकारीहरू एरिजोना स्टेट हाउसमै प्रवेश गर्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूले फ्लोरिडा र क्यालिफोर्नियासहित देशभरका मुख्य शहरहरूमा विरोध प्रदर्शन गरेका छन् ।
हजाराैं संख्यामा उत्रिएका प्रदर्शनकारीहरूले क्रान्तिकारीहरू जस्तै पोशाक लगाएका थिए र उनीहरूले ‘यो कू हो’ र ‘कायरहरू ट्रम्पलाई नमन गर्छन्, देशभक्तहरू उठ्छन्’ लेखिएका प्लेकार्डहरू बोकेका थिए।
वासिङटनमा भएकाे विराेध प्रदर्शनमा हजाराैं मानिसहरू सहभागी थिए। जहाँ ‘मस्क हटाऊ’, नारा समेत लगाइएकाे थियाे ।
अमेरिकामा विपक्षीहरू सडक प्रदर्शनमा निस्किँदै गर्दा माैसम भने निकै प्रतिकुल छ । अमेरिकाका अधिकांश शहरकाे तापक्रम शून्य मूनि छ । तर, तापक्रम शून्यभन्दा कम भएका धेरै शहरहरूमा मानिसहरूले प्रदर्शन गरे। एजेन्सीबाट