

काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको शुभकामना सन्देशले राजनीतिक वृत्त केही तातिएको छ । उनले शुभकामना सन्देशमार्फत प्रजातन्त्र दिवसको मात्रै शुभकामना साटेका छैनन्, आफू सक्रिय बन्दै गरेको पनि संकेत दिएका छन् ।
शाहले पहिलो पटक देशको रक्षा, प्रगति र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान पनि गरेका छन् । “देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ”, शाहले सन्देशमा भनेका छन्, “अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।”
शाहले विभिन्न शीर्षकमा बेला बखत सन्देश जारी गर्ने गर्दछन् । यद्यपि, प्रजातन्त्र दिवसमा यस पटक जारी गरिएको सन्देश यसअघिका भन्दा निकै भिन्न छ । जसबाट राजनीतिक वृत्त केही तरङ्गित देखिन्छ । उनको सन्देशसँगै राजसंस्था पक्षधर समूह उत्साहित देखिएको छ ।
शाहको सन्देशलाई लिएर राप्रपाभित्र ‘माहौल बनेको’रूपमा अर्थ्याइएको छ । राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले शाहको सन्देशलाई पहिलो साहसिलो सम्बोधन मात्रै भनेका छैनन्, व्यवस्था परिवर्तनको आन्दोलनको माहौलको रूपमा पनि अर्थ्याएका छन् ।
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई तत्कालै कार्यसम्पादनको बैठकमार्फत निर्णय लिन पनि आग्रह गरेका छन् ।
“राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ”, लोहनीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्य सम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ ।”
ज्ञानेन्द्रको आह्वान अर्थहीन – मुख्य दलहरू
मुख्य राजनीतिक दलहरूले पूर्वराजा शाहको आह्वान अर्थहीन भएको टिप्पणी गरेका छन् । अवस्थाले निम्त्याएको समस्याभित्र शाहले खेल्न खोजेको भन्दै दलहरूले त्यस्तो प्रयास सार्थक हुने टिप्पणी गरेका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले शाहको आह्वान टिप्पणी योग्य नै नभएको बताएका छन् । व्यवस्था फर्काउने पक्षमा जनता नरहेको दाबी पाण्डेको छ ।
“शाहको आह्वान टिप्पणी योग्य नै छैन”, सूत्रसँगको कुराकानीमा पाण्डेले भनेका छन्, “असन्तुष्टिहरूमाथि खेल्न खोज्ने केहीको प्रवृत्ति हुन्छ, तर त्यस्ता प्रवृत्तिलाई जनताले स्वीकार गर्दैनन्, त्यस्ता बेतुकका कुराको पछि मुलुक लाग्दैन ।”
पाण्डे जस्तै माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा पनि शाहको आह्वान अर्थहीन भएको टिप्पणी गर्दछन् । “बगेको खोला कहिल्यै फर्किँदैन, यो प्राकृतिक नियम हो”, शर्मा भन्छन्, “समाज सधैँ अग्रगमनको पक्षमा हुन्छ, यो व्यवस्था ठिक छैन भने जनताले यसको उत्तम विकल्प खोज्छन्, तर, पछि लाग्दैनन् ।”
पूर्वराजा शाहले सन्देशमार्फत तुस मात्रै पोखेको भन्दै शर्माले जनता त्यस्ता तुसको पछि नलाग्ने टिप्पणी गरे । “अहिलेको व्यवस्था होइन, अवस्थाप्रति जनतामा केही असन्तुष्टि छन्, ति असन्तुष्टिको सम्बोधन यही व्यवस्थाबाट हुन्छ”, उनले भनेका छन्, “ज्ञानेन्द्रले अब उभिन्छु भन्नु सुकेर झुरिएको दाउरालाई हरियो बनाउँछु भनेजस्तै हो । जसको कत्ति पनि अर्थ छैन ।”
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि पूर्वराजा शाहले व्यक्तिगत रूपमा व्यक्त गरेको चाहनालाई त्यति महत्व दिन आवश्यक नरहेको टिप्पणी गर्दछन् । उनका अनुसार शाह एक नागरिक हुन् र उनले अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गर्दै जनतालाई आह्वान गरेका छन् ।
“संसदमै पनि हामी व्यवस्था उल्ट्याउँछौं भन्नेहरू छन्, पूर्वराजा शाहले पनि त्यही ढंगले बोलेका छन्”, घिमिरे भन्छन्, “लोकतान्त्रिक व्यवस्थामा सबै खालका विचार प्रस्तुत गर्न पाइन्छ, कांग्रेस कसैको विचारमाथि प्रतिबन्धको पक्षमा छैन तर, त्यो कति अर्थयुक्त छ भन्ने कडीमा हेर्नुपर्छ, अहिले राजसंस्थाको पक्षमा मानिसहरू शिला खोजेजस्तै भएको अवस्थामा यसलाई महत्व दिन आवश्यक छैन ।”
‘वार्मअप’ अर्थयुक्त
यद्यपि, घटनाक्रमलाई हेर्दा, पूर्वराजाको ‘साहसिलो सन्देश’को पछाडि अर्थ देखिन्छ । पछिल्लो समय उनी स्वयंको मात्रै सक्रियता बढेको छैन, राजसंस्था पक्षधर पनि सलबलाइरहेका छन् ।
शाह विभिन्न शीर्षकमा निरन्तर देश दौडाहा अभियानमा निस्किरहेका छन् । सँगै, उनी छिमेकी देशको भ्रमणमा पनि निस्किरहेका छन् ।
पूर्वराजा शाहले पछिल्लो पटक गरेको भारत भ्रमण निकै अर्थयुक्त देखिन्छ । गत पुस ७ गते उत्तर प्रदेशको राजधानी लखनउ पुगेका शाहले भारतीय उच्च राजनीतिक अधिकारीहरूसँग लामो भेटवार्ता गरेका थिए । जहाँ उनले आरएसएसका प्रमुख मोहन भागवत र मुख्यमन्त्री योगी आदित्यनाथलगायतलाई सँगै राखेर विशेष छलफल गरेका थिए ।
शाहको भ्रमणअघि अनौठो शैलीमा भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक ‘निजी भ्रमण’ भन्दै मंसिर २१ मा काठमाडौंमा ओर्लिएका थिए ।
त्यसयता एकपछि अर्को गरी विकसित भइरहेको घटनाक्रम सामान्य प्रकृतिको देखिन्न । राजनीतिक विश्लेषक मुकुन्द आचार्य शाहको ‘वार्मअप’लाई ध्यान दिन आवश्यक भएको बताउँछन् ।
“केही कट्टर गणतन्त्रवादी पनि राजसंस्थाको पक्षमा देखिन थालेका छन्, भारतीय संस्थापनले पनि सो ढंगले पैरवी गरिरहेको छ”, आचार्यले भनेका छन्, “यतिबेला उनको सक्रियतासँगै ‘मलाई नै सहयोग गर’ भनेर गरेको आह्वान सामान्य प्रकृतिको छैन ।”