

काठमाडौं । देशभरको स्थानीय तहहरु मध्ये ललितपुर महानगरपालिकाको चर्चा छुट्टै हुने गर्दछ । सडकदेखि पर्यावरणलाई समेत ध्यान दिएर हरेक गतिविधिहरु संञ्चालन हुँदै आइरहेको छ । तर केही सामान्य कुराहरुलाई ध्यान दिन नसक्दा नागरिकले भने सास्ती खेप्न बाध्य हुने गरेका छन् ।
सुन्दर शहरको परिकल्पनाका साथ मेयर चिरीबाबु महर्जन नेतृत्वको टिम समृद्ध र व्यवस्थीत महानगर बनाउन लागि परेका छन् । तर आम नागरिकले सर्वाधिक प्रयोग गर्ने ललितपुर महानगर अन्तर्गतको बागमती करिडोर संकटा मार्गको पुल मुनि वर्षाको पानी वर्षभरी जम्ने गरेको छ । त्यसले एउटा सुन्दर महानगरलाई गिज्याइ रहेको मात्र छैन आम सर्वसाधरणलाई सास्ती खेप्न समेत बाध्य पारेको छ ।
काठमाडौं उपत्यका अन्तर्गत बागमती करिडोरको सडक अत्याधिक व्यस्त रहने मध्येको एक हो । तर पुलको मुनि वर्षौदेखि पानी जमेर बस्दा उक्त ठाउँमा सवारी आवागमन एकतर्फी मात्र हुने गरेको छ । जसका कारण घण्टौ जाम हुने गरेको छ । यसो हुँदा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु आफैमा लज्जास्पद कुरा हो।
पुल मुनि जमेको पानीले महानगरलाई गिज्याइ रहँदा त्यस तर्फ सम्बन्धित निकायको कुनै ध्यान जान सकेको देखिदैन । उक्त ठाउँमा दिनमा भन्दा पनि रातको समयमा दुर्घटना जोखिम उच्च रहने गरेको छ । रातको समयमा जमेको पानी नदेखिदा दुर्घटना हुने गरेको पाइन्छ । उक्त पानी हटाउने मात्र हो भने पनि सवारी आवागमन दुई तर्फी हुँदा घण्टौसम्म हुने जाम र सम्भावित दुर्घटना केही हदसम्म भए पनि कम हुने छ ।
त्यहाँको ट्राफिक जाम युएन पार्कसम्म देखिन्छ र हरेक दिन कार्यलय समयमा नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन। स्थानीय जनप्रतिनिधिदेखि सम्बन्धित निकाय मुक दर्शक भएर टुलुटुलु हेरिरहेको अवस्था छ। बागमती करिडोरको यो बाटो सिधै चक्रपथ बल्खु जोडिने भएकोले पनि प्रायः यो बाटो अत्यन्तै जाम भइरहेकोे देखिन्छ।
सधै ब्यस्त रहने यो सडकको पुलमुनी जमेको पानीको तालले आम सर्वसाधरण नागरिक (विशेष गरी सवारी साधन प्रयोगकर्ता) ले खेप्नु परेको सास्ती मेयर चिरीबाबु महर्जनले अनदेखा गर्नुको कारण के होला ? यो आम नगरिकको प्रश्न हो ।
पुलमुनि जमेको यो तालको पानी निकासको इन्जिनियरिङ किन यति कम्जोर ? “चिरीबाबुको सपना, स्वच्छ सफा हराभरा ललितपुरको योजना”लाई यो पुलमुनी जमेको पानीले गिज्याइ रहेको छ।