

काठमाडौं । सन् २०२४ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ । उल्लङ्घनको घटना सबै भन्दा बढि हुनेमा बागमती प्रदेश रहेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १० हजार ७ सय ३४ जना पीडित भएको जनाएको हो ।
यसअघि सन २०२३ मा यस्ता घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबै भन्दा बढि र गण्डकी प्रदेशमा सबै भन्दा कम मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।
सन् २०२४ मा राज्यपक्षबाट ४ सय ५८ जना पीडित भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ५ सयले कमी रहेको इन्सेकले जनाएको छ । मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले संक्रमणकालीन न्यायीक प्रकृयामा देखिएको ढिलासुस्ती अन्त्य गरी विश्वासयोग्य आयोगको प्रक्रिया तत्काल आरम्भ गर्नुपर्ने सुझाव दिएको छ ।
त्यस्तै महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रभावकारी कानूनी व्यवस्था लागू गर्नुपर्ने इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए ।
इन्सेकले सडक दुर्घटनाका कारणबाट हुने क्षतिको न्यूनिकरण गर्न आवश्यक कार्ययोजना बनाइ कार्यारम्भ गर्नुपर्ने सुझाव दिएको छ । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।