

काठमाडौं । फागुन ३ गते शनिवार पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई अभद्र व्यवहारको कसूरमा हिरासतमा राखिएको छ।
कुमारलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले फागुन ६ गते पक्राउ गरेको थियो। फागुन ३ गते पोखराको सभागृहमा भ्रमण वर्ष उद्घाटन गर्दा हाइड्रोजन ग्यास भरिएको बेलुनलाई पानसमा बलिरहेको बत्तीबाट निस्केका झिल्काले भेट्दा दुर्घटना भएको थियो।
बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखर महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। दुवै जनाको अनुहार जलेको छ। दुवैलाई त्यही दिन हेलिकोप्टमार्फत थप उपचारका लागि काठमाडौंको ल्याइएको थियो।
कीर्तिपुर अस्पतालमा उपचारपछि पौडेल फागुन ६ गते डिस्चार्ज भइसकेका छन्। आचार्यको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ।
मानव स्वास्थ्यका लागि घातक मानिने हाइड्रोजन ग्यास भरिएको बेलुन प्रयोग हुँदा दुर्घटना भएको थियो। घातक बेलुन प्रयोग गरेको भन्दै प्रहरीले ४१ वर्षीय कुमारलाई पक्राउ गरेको हो।
लापरवाहीपूर्वक कार्यक्रम सञ्चालन गरेको भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि दुवाडीको अध्यक्षता गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ।