

काठमाडौं । चर्चित अटोमोबाइल कम्पनी टाटाले आफ्नो पहिलो ‘कूपे’ डिजाइनको ‘टाटा कर्भ ईभी’ नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले जनाएअनुसार आगामी साता उक्त गाडी सार्वजनिक हुनेछ ।
सार्वजनिक गर्न लागिएको टाटा कर्भ ईभी तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीको भनाई । मूल्य र अन्य जानकारी कम्पनीले गाडी सार्वजनिक गरेकै दिन मात्रै जानकारी दिने बताएको छ ।
सार्वजनिक गर्न लागिएको गाडी निकै लक्जरियस प्रकृतिको भएको कम्पनीले प्रारम्भिकरुपमा जानकारी दिएको छ । जसले लक्जरियस प्रकृतिको सवारी खोज्नेलाई आर्कषित गर्ने कम्पनीको भनाई छ ।
के हो ‘कूपे’ डिजाइन ?
अटोमोबाइल क्षेत्रमा ‘कूपे’ डिजाइन निकै प्रचलित छ । ‘कूपे’ शब्द खासमा फ्रान्सेली भाषा ‘कूपर’बाट आएको हो, जसको अर्थ ‘काट्नु’ भन्ने हुन्छ । यसले मूल रूपमा घोडाले तान्ने गाडीको एक प्रकारलाई जनाउँछ ।
जसको अर्थ गाडीको पछाडिको पार्ट काटिएको जस्तो देखिनु हो । जसले गाडीलाई कम्प्याक्ट र स्पोर्टी लुक्समा देखाउँछ ।
दोस्रो विश्वयुद्धपछि विशेषगरी अमेरिकी तथा युरोपेली देशमा ‘कूपे’ शैलीका गाडीहरु विकसित भएको पाइन्छ । सन् १९४० र १९५० को दशकमा शेभ्रोलेट कर्भेट र फोर्ड थन्डरबर्ड जस्ता प्रतिष्ठित मोडेलहरू सार्वजनिक भएका थिए ।
सन् १९५८ मा सार्वजनिक रोभर ए५ ले निकै चर्चा पाएको थियो । जुन गाडी सार्वजनिक भएपछि विशेषगरी यूरोपेली देशहरुमा मर्सिडीज गाडीहरुमा यसको व्यापक प्रयोग गरिएको पाइन्छ ।
विशेषगरी सन् २००० पछि यसले विश्वभर नै लोकप्रियता कमाएको भेटिन्छ ।
हाल मर्सिडीज, बिएमडब्लू, ल्याम्बोर्गिनी, औउडीलगायत गाडीहरु मात्रै कूपे डिजाइनका छन् । टाटाले ल्याउन लागेको ‘टाटा कर्भ ईभी’ पहिलो कूपे डिजाइनको गाडी हो ।