

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरअनुसार चलचित्रमा आचार्यले भुटानी आप्रवासीको भूमिका निर्वाह गरेका छन् ।
विशेषगरी अमेरिका गएपछि भुटानीकाे जीवन कस्ताे छ भन्ने कुरालाई चलचित्रमा देखाउन खाेजिएकाे छ । टिजरअनुसार आचार्य आफ्नाे मुलुक भुटान फर्कन चाहन्छन्, जुन अतृप्त चाहनै कारण उनी मानसिक राेगी भएका छन् ।
१ मिनेट ५१ सेकेण्डकाे टिजरले चलचित्रकाे समग्र कथा बाेकेकाे छ ।
चलचित्रमा दयाहाङ राई र जोयश पाण्डे दाजुभाइकाे भूमिकामा देखिन्छन् । जहाँ बाबुको शवलाई जलाउने कि गाड्ने भनेर विवाद गरिरहेको देखिन्छ ।
विदेशी शैलीकाे जस्ताे देखिने चलचित्रकाे छाेटाे टिजरले निकै मन छुन्न ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्र आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्ड अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गरेका छन् ।
चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका छन् । यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकार, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् ।
चलचित्र वैशाख १२ गते प्रदर्शनमा आउनेछ ।