

राजतन्त्रको २३८ वर्षको एउटा लामो र प्रत्यक्ष शासन शृङ्खला समाप्तिपछि प्रजातन्त्र, लोकतन्त्र हुँदै हामी गणतन्त्र युगमा प्रवेश गर्यौँ । राजतन्त्र सधैँका लागि बिदाइ गर्न माओवादीको दस वर्षे जनयुद्ध र ६२/६३ सालको जनआन्दोलन एउटा मुख्य कारक थियो। नेपालको कुनै पनि एक राजनीतिक दलको कारणले नेपालमा गणतन्त्र आएको होइन । त्यसैले पनि एक वर्गले वा एउटा पार्टीले नेपालमा गणतन्त्र ल्याउनको लागि आफ्नो मात्रै भूमिकालाई महत्व दिन्छ भने त्यो गलत हो।
राजावादी बाहेक सबै नेपाली जनताले राजा विरुद्ध आन्दोलन गरे र राजाले बिना रक्तपात आफ्नो विरासत छोडे । ज्ञानेन्द्र शाहको त्यो एउटा धैर्यता र धर्मलाई भने मान्नुपर्छ । भलै उनी व्यापारी हुन । व्यापारीको चरित्र नाफासँग जोडिएको हुन्छ । उनले त्यति बेला सजिलोसँग सत्ता हस्तान्तरण गर्नुमा पनि कतै नाफाकै जोड घटाउको सूत्र लागू गरेका थिए कि ?
राजाहरूको त्यति लामो प्रत्यक्ष शासनकालमा नेपालको उन्नति भएको खासै मानिँदैन । राजा महेन्द्रले आफ्नो छोटो समयमा जति विकास गर्न भ्याए त्यति विकास न महेन्द्र भन्दा अगाडिका महाराजाहरूले गरे न पछिल्लो पुस्ताले गरे । राजाहरूमा देश विकास गर्ने सोच भन्दा पनि आफ्नो विरासत र श्रीपेच कसरी टिकाइराख्ने भन्ने सुदूर चिन्ताले प्रभाव पारिरह्यो ।
लिच्छविकाल र शाह कालको तुलनात्मक अध्ययन गर्दा महेन्द्रले थोरै समय राज्यको नेतृत्व गर्दा पनि हासिल गरेको प्रगतिलाई कम आकलन गर्न सकिन्न । मुलुक समृद्धिको हिसाबले राजा महेन्द्रको अपवाद बाहेकका अरू राजा गणनायोग्य छैनन् । ज्ञानेन्द्रको अथाह सम्पत्ति प्रयोगले हजारौँ नेपाली युवाहरूलाई रोजगारी दिन सकिन्थ्यो, युवाहरूलाई स्वदेशमै सक्षम बनाउन सकिन्थ्यो । राजाको सम्पत्ति ट्रस्ट बनाएर चिडियाखानमा बाघ/भालु हेर्न गए जस्तै बनाउनुको साटाे त्यसलाई औद्योगीकरणमा बदलेर मुलुकको आर्थिक उन्नतिका लागि उपयोग गर्न पर्थ्यो। ‘राजा आऊ देश बचाउ’ भनेर मात्रै हुन्छ ?
अहिले जसरी जुन पार्टीका प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हुँदा, तिनै पार्टीका ठुलाठालु नेता,कार्यकर्ता, झोले झाम्टेहरुले फाइदा लिइरहेका छन् । यो कुरा राजाका पालामा पनि लागू भएको थियो र अब राजा फेरि राजगद्दीमा फर्के भने तिनै राजाका पार्टीका नेता तथा राजावादीहरूले पुनः निजी फाइदा लिने हुन ।
यहाँ विकासको लागि राजा चाहिएको होइन, तिनै राजावादीहरूको फाइदाका निम्ति राजा चाहिएको हो। राजालाई सत्ता चाहिएको होइन राजावादीहरूलाई राजा चाहिएको हो। राजावादी पार्टी भित्र पनि केही थोरै असल नेता छन्, जसलाई देशको सार्वभौमिकताको चिन्ता छ, मुलुकको चिन्ता छ । व्यवस्था र अवस्था परिवर्तनका नाममा मुलुकले सधैँ द्वन्द्व खेपिरहन सक्दैन । यहाँ आन्दोलन समृद्धि र विकासको लागि कहिले भएन । सधैँ सत्ताको स्वार्थमा मात्रै आन्दोलन हुने भएकोले यो देश झन-झन गरिब उन्मुख भइरहेको छ ।
बन्दा बन्दैका पुलहरू किन भत्किन्छन् ? पिच गर्दागर्दैका सडक किन उदास गीत गाउँछन् ? मालपोत कार्यालयमा सरुवा हुन किन मन्त्रीहरूलाई गुहारिन्छन् ? प्रमोसनको बेला आएपछि किन प्रहरीहरू ठुला नेताका घरमा धाउँछन् ? निवेदन दिएको दुई वर्ष सम्म पनि किन सर्वसाधारणले लाइसेन्स पाइरहेका छैनन् ? पाँच हजार तिरे पासपोर्ट बन्न डेढ महिना लाग्ने, दस हजार तिर्यो भने दुई दिनमा बन्ने यो के हो ? पासपोर्टले पनि पैसा चिन्छ र ? दुई वर्षमा सम्पन्न हुने आयोजनाहरू किन दस वर्षमा नि सकिँदैन ? आर्मी र प्रहरी संघ-संगठनमा भएको भ्रष्टाचारको किन छानबिन हुँदैन ? न्यायपालिका किन निरीह बन्दै गएको छ ? सारा जनताको अख्तियारी गर्ने अख्तियारका आयुक्त आफै कमाऊ धन्दा र भ्रष्टाचारमा निर्लिप्त पाइनुले पनि भ्रष्टाचार कति मौलाएको रहेछ भन्ने कुरा यसबाट अझै छर्लङ्ग हुँदैन र ?
नेपाली नागरिक यसको विरुद्धमा उठ्नेकी सधैँ सत्ताकै स्वाद र स्वार्थमा अल्झिरहने ? हिजो राजा फाल्न आन्दोलन र युद्ध भयो । आज फेरि राजालाई सत्तामा ल्याउन आन्दोलनको तयारी हुँदै छ । राजा सत्तासीन भए भने फेरि राजा फ्याँक्न अर्को युद्धको र द्वन्द्वको तयारी हुन्छ । सत्ताको निहुँमा यो मुलुक सधैँ द्वन्द्वमा फसिरहने हो भने हामी संसारको सबैभन्दा गरिब देश भनेर चिनिन्छौ। विश्व नै आर्थिक मन्दीको चपेटामा गुज्रँदै गएको अवस्था छ ।
अमेरिका जस्तो देश आफै गरिब उन्मुख भएको प्रमाण ट्रम्पले विश्वलाई दिएको आर्थिक सहयोग रोक्नुले प्रमाणित गरेन र ? अब हामी उत्पादन गर्नतर्फ लाग्ने कि सत्ताको लागि सधैँ युद्ध र द्वन्द्व गरिरहने ?