

काठमाडौं । सरकारको प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले साना र प्रतिष्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको बताएका छन् । सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप समेत लगाएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन् । साना र प्रतिष्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी समेत गरेका छन् । उनले सरकारले संसदको नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए ।